अर्जुन शर्मा,तातोपानी ।
नेपालका लागि चिन सँगको प्रमुख व्यापारिक नाका तातोपानी नाका यही असोज १९ गते सोमबारबाट सुचारु हुने भएको छ । मंलबार दुई देशका सरकारी अधिकारी बीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति गरेको हो ।
सो छलफलका लागि चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरु आएका थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, शसस्त्रका प्रमुख, भन्सार प्रमुख खत्री, अनुसन्धानका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए ।
१८ गते चाइनिज बन्दरगाह खुल्ने र १९ गतेबाट मात्रै चिनिया सामान मितेरी पुलमा झर्ने सहमति भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभएको छ ।
पछिल्लो समय सिन्धुपाल्चोकमा आएको बाढी पहिरोबाट तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरा गएर सडक भत्काएसँगै तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । यस सँगै तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेको अर्को कारण समेत देखाएको थियो । जसका कारण २५ असार यता नाका पूर्ण रुपमा बन्द नै रहेको छ ।
बैठकले चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र यताका मजदुर तथा चालक टोली पीसीआर गरेर ती सामान लोड गरेर ल्याउने सहमति गरेको छ । त्यसका लागि नेपालका तर्फबाट चालक र मजदुर गरी २८ जनाको तयारी अवस्थामा बसेको प्रमुख खत्रीले जानकारी दिनुभएको छ ।
तर चिनियाँ पक्षले थप २८ जनाको टोली तयारी अवस्थामा राख्न भने पछि त्यसका लागि नेपालका तर्फबाट थप २८ जनाको टोली तयारी अवस्थामा राखिने छ ।
पहिलो चरणमा तयार रहेका २८ जना चालक र मजदुरको पीसीआर पनि चाइनिज पक्षले नै गर्ने सहमति भएको छ । नाकामा खटिने चालक र मजदुरको ५र ५ दिनमा कोरोना परीक्षण गरिने र सो परीक्षण चीनले नै गर्ने सहमति भएको छ । प्रमुख खत्रिले भन्नुभयो । यसअघि जांच गरिएका सवै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैगरी कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न नेपालले अनुरोध गरेको छ । तर चिनियाँ पक्षले भने यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । चिनियां राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।
त्यसैगरी रसुवागढी नाका एक साता अघि सञ्चालन भएपनि चार दिन अघि चिनियां भूभागमा आएको पहिरोका कारण सामान आयात भएको छैन । रसुवागढीमा पनि बुधबार चिनियां अधिकारीहरुसंग छलफल हुनेछ ।