रुपक पुरी, असोज १५ ।
‘गरे के हुँदैन’ भन्ने अदाहरण सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका पालिका–१२ का उत्साही युवाले तरकारी खेतिबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । भीमटारका स्थानीय सुरेन्द्र दनुवारले कृषि पेशामा आवद्ध रहेर गोलभेडा खेती सुरु गर्नुभएको हो ।
पाँचलाख लगानी गरेर डेढ रोपनी जमिनमा तीनवटा टनेल निर्माण गरि गोलभेडा खेती सुरु गरेको किसान सुरेन्द्र दनुवारले बताउनुभयो । सिंचाइको व्यवस्था नभए पनि बर्षाको पानी पोखरीमा जम्मा पारि त्यहीँ जमेको पानीको भरमा गोलभेडा खेती गरेको दनुवारले बताउनुभयो । गोलभेडा राम्रो सँग फलेकोले ३ लाख आम्दानी हुने अनुमान उहाँको छ ।
गोलभेडा खेती पहिलो पटक सुरुवात भएयता अहिलेसम्म २० हजार जति आम्दानी भएको उहाँको भनाई छ । स्थानीय सरकारले कृषि क्षेत्रमा लागेका किसानलाई अनुदान दिए व्यवसाय अझै बढाउने योजना रहेको दनुवारले बताउनुभयो । सँगैका साथीले गाउँमै मिहिनेत गरेर राम्रो आर्जन गरेकाले आफूले विदेशिने मनसाय छाडेर तरकारी खेती शुरु गरेको सोही बस्तीका प्रमोल दनुकनरको भनाइ छ ।
परिश्रमी, सहयोगी र सरल व्यवहारका आफ्ना बस्तीका युवाले खेतीबाटै पाएको सफलता र त्यसको अनुकरण अरूले गर्न थालेको देख्दा निकै खुशी लागेको वडा नम्वर १२ का वडाअध्यक्ष कमलरत्न दनुवारले बताउनुभयो ।