अर्जुन शर्मा, असोज १६ ।
बाढीपहिरोबाट आक्रान्त सिन्धुपाल्चोकको जोखिम बस्तीको पहिचान, स्थानान्तर तथा आवास व्यवस्थापन सम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लामा असार १९ गते पछि परेको अबिरल बर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमाबाट भएको जनधनको क्षति र तत्पश्चात बस्ति स्थानान्तरण सम्बन्धि प्रारम्भिक सुझाव प्रतिबेदन माननीय गृह मन्त्री राम बहादुर थापा’बादल’लाई एक कार्यक्रम बिच जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले हस्तान्तरण गर्नु भएको छ । उक्त प्रतिवेदन सभामुख अग्नीप्रसाद सापकोटालाई सदरमुकाम चौतारामा बिहिबार नै हस्तान्तरण गरिसकिएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रतिबेदन बुझ्नु हुंदै माननीय गृह मन्त्रीज्युले देशै भरिका ४९ जिल्लाहरु बाढि पहिरोबाट क्षति भएको र सिन्धुपाल्चोक सबैभन्दा बढि पिडित भएकोमा दुख ब्यक्त गर्नु भएको छ ।उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुंदै उहांले बिश्व बैकसंग करिब ६ अर्ब बराबरको ऋण सम्बन्धि सम्झौता भै सकेको र कार्यान्वयनको चरण रहेको समेत बताउनु भयो ।उहांले बिपद पश्चात बस्ति स्थान्तरण गर्दा पिडितहरुको चाहना अनुरुप गरिनु पर्ने र रोजगार र आय आर्जनमा बिशेष ध्यान दिईनु पर्ने बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला विपद् व्यवस्थापन र समन्वय समितिको संयक्त प्रयासमा गठन भएको कार्यदलले स्थानीय तहले दिएको सूचना र सुझावका आधारमा प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा उल्लेख गरिएका अनुसार जिल्लाका तीन सय ५१ बस्ती जोखिममा छन् । ति मध्ये ६ हजार ५ सय ३१ घरधुरी स्थानान्तर गर्नुपर्ने देखिन्छ । प्रतिवेदनमा जोखिम मध्ये पनि कम्तिमा १८ बस्ती अति संवेदनशील रहेको उल्लेख छ ।
उक्त हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्नु हुंदै पुर्ब मन्त्री एबम सिन्धुपाल्चोक क्षेत्र नं २ का संघीय सांसद शेर बहादुर तामाङले बस्ति स्थानान्तरणका लागि जग्गा सट्टापट्टा सम्बन्धि कानुन अपरिहार्य रहेको र सो कानुन तत्काल पारित गर्न माननीय गृहमन्त्रीज्युलाई अनुरोध समेत गर्नु भएको छ ।
सुक्षित स्थान, आयआर्जन,जग्गा सट्टापट्टाको कानुनी व्यवस्था, साविक बस्तीको झल्को दिने संरचनाको निर्माण, र त्यस्ता स्थानमा पूर्वाधारको विकास तथा सामाजिक तथा धर्मिक सहिष्ण्ुाता कायम गर्दै बस्ती हस्तान्तरणको योजना निर्माण जस्ता विषयमा सरकारी प्रयासको खाँचो रहेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त हस्तान्तरण कार्यक्रममा पुर्ब सांसद एबम ने.क.पा.नेता दावा तामाङ ,ने.क.पा.केन्द्रिय सदस्य एबम पार्टि जिल्ला कमिटिका तर्फबाट गठित अध्ययन कार्यदलका संयोजक माधब सापकोटा’सुबोध’गृह मन्त्रालयका सचिब महेश्वर न्यौपाने,प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,बिपद ब्यबस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल ,सम्माननीय सभामुखज्युका स्वकिय सचिब गोबिन्द पाठक ,जिल्ला समन्वय समितिकि उप प्रमुख बालकुमारी सापकोटा ,पत्रकार माधब नेपाल लगायतको उपस्थिति रहेको थियो ।
गत असार २२ गतेदेखि भदौं २२ गतेसम्म जिल्लामा बाढीपहिरोबाट ७७ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् ।क्षतिका आधारमा सिन्धुपाल्चोक र बागलङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।