चौतारा,असोज २४ ।
कानुन व्यवसायीहरुको संस्था नेपाल बार एसोसियशन जिल्लाबार इकाईको ३० औ साधारण सभा तथा १६ औं अधिवेशसन शनिबार बार भवन चौतारामा सम्पन्न भएको छ ।
अधिवेशनबाट आगामी २ वर्षका लागि अध्यक्षमा अधिवक्ता भुपेन्द्र बहादुर तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्षका दावेदार रहेका चन्द्रकुमार बस्नेतले दुई जना बीचको छलफल पछि आफ्नो दावी छोडेकाले तामाङ सर्वसम्मत अध्यक्ष बन्नुभएको हो । त्यस्तै अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य र पार्षद् लगायत सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ९ सदस्सीय जिल्ला बार इकाईको उपाध्यक्षमा अधिवक्ता हरिबहादुर कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ र सदस्यहरुमा चन्द्र कुमार बस्नेत, दीपक प्रधान, यज्ञ दंगाल, मधुकर मल्ल र हरिप्रसाद सुवेदी रहनुभएको छ ।
त्यस्तै केन्दीय पार्षदमा अधिवक्ता विशाल श्रेष्ठ निर्वाचित भएको इकाईका नवनिर्वाचित सचिव शशिनाथ आचार्यले जानकारी दिनुभएको छ । सदस्य संख्या थोरै भएपनि नेतृत्वमा जानका लागि प्रतिस्पर्धा देखिएको भन्दै अधिवेशनलाई आम जिल्लाबासीहरुले चासोका साथ हेरेका थिए ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष भुपेन्द्र तामाङले बारलाई जिल्लामाअझै स्थापित र सशक्त बनाउँनका लागि आफू लागि पर्ने बताउनुभयो । उहाँले जिल्ला बारमा नयाँ पुस्तालाई सदस्य बनाउँदै आगामी दिनमा प्रभावकारी न्याय सम्पादनमा अदालतसंग मिलेर कामगर्ने प्रतिबद्धता जनाउनुभयो । न्यायका उपभोक्तालाई अन्याय हुन नदिन र मानव अधिकार, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफू सधैं मिलेर अघिबढ्ने पक्षमा रहेको भन्दै उहाँले अर्ध न्यायिक निकायबाट प्रदान गरिने न्यायिककामलाई पारदर्शी, कानुन र विधीसम्मतबनाइनु आवश्यक रहेको भन्दै स्थानीय न्यायिक समितिसंग बार मिलेर अघिबढ्ने पक्षमा रहेको बताउनुभयो ।
बार साधारण सभाले आगामी कार्ययोजना समेत पारित गरेको छ । पारित कार्ययोजना अनुसार जिल्ला अदालत परिसर भित्रै कानुन व्यवसायी कक्षको स्थापना र सञ्चालन गरिने लगायत उल्लेख छन् । साधारणसभा लगत्तै नवनिर्वाचित कार्य समितिको पहिलो बैठक समेत सम्पन्न भएको सचिव आचार्यले बताउनुभयो ।
अधिवेशन कोभिड १९ को विश्व ब्यापी महामारीका कारण अरु अतिथि र पहुना कसैलाई पनि नबोलाई बारका सदस्यहरु बीच मात्रै सामाजिक दुरी कायम गरेर संक्षिप्त रुपमा आयोजना भएको बारले जनाएको छ । अधिवेशनको उद्घाटन इकाईका संस्थापक अध्यक्ष रोहिणीराज जोशीले गर्नु भएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा इकाईका पूर्व अध्यक्ष तथा जेष्ठ सदस्य मकर बहादुर उदासलाई नगद रु २५ हजार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । उदासले उद्घाटन सत्रमा बोल्दै आफुलाई सम्मानित गरेकोमा बारको नेतृत्व र सबै सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । साढे ५ दशक भन्दा बढी कानुन ब्यवसाय गरेका उदासले आफुले २०२६ सालमा जिल्लामै पहिलो व्यक्तिका रुपमा लेखापढीको लाइसेन्स लिएर कानुन ब्यवसाय सुरु गरेको बताउँदै बारले लगाएको गुन मरेर जाँदापनिनबिर्सने उल्लेख गर्नुभयो । उदास हाल ८३ वर्षको उमेरमा पनि ब्यवसायमा सक्रिय हुनुहुन्छ ।
उद्घाटन मन्तब्यका क्रममापुर्व अध्यक्ष रोहिणीराज जोशीले बार भित्र हार्दिकता र एकताको जरुरी रहेको भन्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बारलाई बलियो बनाउँन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ उक्त अधिवेशनले निवर्तमान सचिव भुपेन्द्र बहादुर तामाङ द्वारा प्रस्तुुत संगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता तामाङ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । अधिवेसनको छलफलका क्रममा अधिकांश सदस्यहरुले जिल्लामा बारको भूमिकालाई अझै सशक्त र प्रभावकारी बनाउँनु पर्ने बताउनुभएको थियो ।