चौतारा,असोज २७ ।
सवारी दुर्घटना न्यूनिकरण गर्न सिन्धुपाल्चोक प्रहरीले स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढ्ने भएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सडक र सवारी संग सम्बन्धित तथा सरोकारवालाहरु भेला गरेर सिन्धुपाल्चोक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न अभियान सुरु गरेको छ ।
मंगलबार बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा एक कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफीक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण अभियान २०७७ सुरु गरेको हो ।
चाडपर्वका समयमा दुर्घटनाको जोखिम धेरै हुने हुँदा सम्भावित दुर्घटना रोक्न सरोकारवालाहरुसँग साझेदारी गर्दै सचेतना अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो। सवारी दुर्घटना न्यूनिकरण अभियान आरम्भ समारोहमा स्थानीय सरकार प्रमुख, यातायात व्यवसायी, संचारकर्मी र स्थानीय अगुवाहरुले दुर्घटना रोक्न हातेमालो गर्दै जुट्ने प्रण गरेका छन् ।
सवारी दुर्घटनाका घटनाबाट सिन्धुपाल्चोकले भयावह क्षति व्यहोरिरहेको स्मरण गर्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सरोकारवालाहरु जुटेर नै दुर्घटनाका घटना रोक्नुपर्ने बताउनुभयो । यातायात व्यवसायी र ट्राफीक प्रहरीबीच समझदारी भएमा दुर्घटना न्यूनिकरण हुने भन्दै अध्यक्ष क्षेत्रीले व्यवसायी—प्रहरीबिच असमझदारीको अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।
सवारी दुर्घटनाका घटनाबाट सिन्धुपाल्चोकले भयावह क्षति व्यहोरिरहेको स्मरण गर्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सरोकारवालाहरु जुटेर नै दुर्घटनाका घटना रोक्नुपर्ने र सवारी नियमको पालना हुन सके दुर्घटना न्यूनिकरण हुने बताउनुभयो । त्यस्तै सवारी दुर्घटना न्यूनिकरणमा स्थानीय सरकार प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने अध्यक्षद्वयले प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले सडक दुर्घटनाका क्षति कहालीलाग्दो रहेको स्मरण गर्दै मानविय कारणले नै सवारी दुर्घटना हुने बताउँनुभयो । उहाँले मानविय संयमता र सावधानीले नै दुर्घटना रोक्न सकिने बताउनुभयो । ‘असावधानी, लापर्वाही, मादकपदार्थ सेवन र मोवाई फोनका कारण दुर्घटना हुने गरेको अधिकारीले प्रस्ट्याउनुभयो ।सरोकारवाला र सम्बन्धित पक्ष सबै जुटेर सडक दुर्घटना रोक्नका लागी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।