दिपक खत्री, चौतारा, कात्तिक १३ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५, नारायणस्थानमा बाल उद्यान निर्माण भएपछि अहिले बालबालिकाको घुँइचो लाग्ने गरेको छ । लामो समयको लकडाउनले विद्यालय जानबाट बञ्चित बालबालिका अहिले बाल उद्यानमा रमाउन थालेका हुन् ।
एकातिर कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द छन भने, अर्कोतिर चाडपर्वको समय छ । दशैं तिहारको बेला, बाल उद्यानमा खेल्न र रमाउन पाएपछि बालबालिका दङ्ग परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का ४ वर्षिय कनिष कक्षपति चिप्लेटि, ढिकिच्याउ, घुम्ने गाडि खैल्दा निकै रमाईलो मान्दै हुनुहुन्थ्यो ।
त्यसो त डिपिआर अनुसार बाल उद्यानको सम्पूर्ण संरचना भने तयार भइसकेका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाबाट २० लाख र डिभिजन बन कार्यालय सिन्धुपाल्चोकको १० लाख लागतमा पहिलो चरणको निर्माण कार्य सम्पन्न भइ बाल उद्यान सञ्चालनमा आएको हो । बाल उद्यानलाई क्रमिक रुपमा विकास र विस्तार गर्दै लाने चौतारा साँगाचोकगढी वडा न ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ बताउनु हुन्छ ।
बालबालिकाहरुको मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जन र खेलकूदले महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत छैन । सदरमूकाम चौतारामा निर्माण भएको बालउद्यानले एकातिर चौताराको शोभा बढाएको छ भने अर्कोतिर बालबालिकाहरु खेल्दै सिक्ने र सिक्दै खेल्ने अवसर पनि दिएको छ । तर चौतारा टुडिखेल मुनि निमार्ण भएको बाल उद्यान संरक्षणको अलपत्र परेको छ ।