अर्जुन शर्मा, चौतारा, कात्तिक १३ ।
चीनसँग जोडिएको तातोपानी नाका बिहिबारबाट पुनः सञ्चालनमा आएको छ ।
करिब तीन महिनापछि खुलेर बन्द भएको तातोपानी नाका बुधवार ‘आइसोलेट एरिया’ सहित सम्पूर्ण तयारी सकेर संञ्चालनमा ल्याइएको छ । चीन र नेपाल बोर्डर न्यू मोडालिटी अनुरुप सिन्धुपाल्चोकबाट चीन जोड्ने उत्तरी तातोपानी नाकालाई खुलाइएको हो ।
नाकाबाट बिहिबार एक कन्टेनर सामान भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको छ । गत असोज १९ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो । शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालय प्रमुख खत्रिले बताउनुभएको छ ।
नाका बुधवारबाटै सबै तैयारी सकाइएकोले शुक्रबारबाट कन्टेनर मार्फत नयाँ मोडालिटी अनुसार सामाग्री तातोपानी भित्रिएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताउनुभयो ।
बुधवार चीन पक्षका उच्च अधिकारीसहित भन्सार, सुरक्षाका पाँच जनाको टोलीले आइसोलेट क्षेत्रलाई अनुगमन गरे पछि नाका खुलाउन सहमत भएको र उच्च सर्तकताको लागि चीनको टोलीले मितेरी पुलबाट फोन मार्फत आग्रह गरेका थिए । नाका बुधवारबाटै सबै तैयारी सकाइएकोले बिहिबारबाट कन्टेनर मार्फत स्याउ भित्रिएको प्रमुख खत्रिले बताउनुभयो ।
२० जनाको पिसिआर परीक्षण गरेर कामदार मजदुरको एकदमै कम संख्याको सानो समुह बनाइएको छ । सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ पति सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठका अनुसार तातोपानी नाकामा अनुमति पाएकाबाहेक अन्यलाई प्रतिबन्ध नै लगाइएको छ । यसअघि सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कंन्ट्रयाक ट्रेसिङ’ र उपचार नसकिँदै ३ जनामा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका बन्द भएको थियो ।
चीन जोड्ने सीमाक्षेत्र तातोपानी नाका आहिलेसम्म आधा दर्जन पटक खुल्ने र बन्द हुने हुदा सीमाबासी त्रसित छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसकै डरमा नाकाप्रति सचेत हुन सीमागाउँका बासिन्दाले जनप्रतिनिधि,प्रशासन,भन्सार,सुरक्षालाई गुहारेका छन् । नाका खुल्ने र बन्द हुने धेरै पटक क्रम हुँदा सीमाबासीले जनप्रतिनिधिलाई जनताले प्रश्न गरिरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो ।
‘उच्च सर्तकता अपनाएर सुरक्षा अनभुतीबीच तातोपानी नाका खोलियोस् भन्ने हो, तर यसबारे गंम्भिरता नदेखिएको जनगुनासो आउन थालेको छ,’उहाँले भन्नुभयो । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो ।