चौतारा ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका सबै विद्यालयमा आइतबारदेखि पढाइ शुरु भएको छ ।
कोभिड–१९ संक्रमणका कारण लामो समय देखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे सँगै नगरपलिकाभित्रका माध्यमिक, आधारभुत र बालशिक्षा समेत गरी ७६ वटै विद्यालय सञ्चालनमा आएका हुन् ।
शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिइएको थियो ।
सोही अनुमति अनुसार नै नगरपालिकाको सामाजिक बिकास समितिको बैठकले कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण पाण्डले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै प्रभाव परेको छ, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गर्न भनेका छौँ ।”
विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न सम्पुर्ण बिद्यालयमा पत्राचार गरिएको र सोही अनुरुप बिद्यानलय खुलेको नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रकुमार बोहोरा बताउनुहुन्छ ।
कोरोना जोखिमबाट बच्न विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाएर कक्षा संचालन गरेको सेतीदेवी पन्चकन्या माध्यामिक बिद्यालयका प्रध्यानाध्यापक कृष्ण पौडेल बताउनुहुन्छ । “हाम्रो सर्तकताले मात्रै पुग्दैन, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी छ”, प्रअ पौडेलले भन्नुभयो ।
कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना साथि भेटन पाँउदा विद्यार्थी निकै खुसि र हर्षित भएका छन् ।