न्यायले न्याय नपाएको परिवेशमा
आँखामा पट्टी बाँधेर
तराजू बोकिरहेको न्यायमूर्तिको
जहाँ परिभाषा नै फेरिएको छ
निष्पक्ष न्यायको
अन्धो न्याय ले मूर्ति बेरिएको छ
कतै सोझो किसान गलेको छ त
कतै न्यायकामी जनता ढलेको छ
एस्तो अद्भुत देशमा
अन्याय नै न्याय को भेषमा
हालिमुहाली गरेका बेला
न्यायको मीठो सपना देखौं
आऊ न्यायको कविता लेखौं
चामलमा बयाँ झैं
आक्कलझुक्कल मिल्ने, र,
मिल्दा पनि आधा मिल्ने
मिलेको आधा पाउन पनि बाधा हुने
न्यायको भोग गरौं,
स्वप्निल न्यायको कविता लेखौं
न्याय कुर्दाकुर्दै दम तोड्नेहरु
न्यायका लागि अदालत धाउँदा धाउँदै
चप्पल खियाउनेहरु
न्याय मागेकोमा
जिउँदै पुरिनेहरु
जो जो छन् तिनीहरुलाई सम्झेर
न्यायको अनिकाल परेको देशमा
आऊ न्यायको कविता लेखौं
वास्तविक न्यायलाई सपनामा देखौं ।
जो रक्षक उही भक्षक बनेको देशमा
जिउँदै इँटाभट्टामा मान्छे जलाउने
नेताहरुको बिगबिगी भएको परिवेशमा
ब्वाँसाहरु नै भलादमीको भेषमा
न्यायमाथी पद र पैसाको
हैकम प्रभावी भएको स्थितिमा
कविता लेखेरै भए पनि
अद्भुत न्यायको अनुभूति गरौं
मनमा सपनाका रागहरु भरौं
आऊ न्यायको सपना देखौं
न्यायको नौलो कविता लेखौं ।