मेलम्ची ।
मेलम्ची नगरपालिकाको वडा नं. ४ थकनीमा अवस्थित श्री कृष्ण मा.वि.को बिद्यालय व्यवस्थापन समिति राजनैतिक पुर्वाग्राहीको कारण लामो समयदेखि गठन हुन नसकी रिक्त रहेको र यथाशिघ्र बिद्यालय व्यवस्थापन समिति गठन गर्न भन्दै स्थानियले मंगलबार नगरपालिकाका शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार अभिभावहरु नगरपालिकामा नै आएर सो ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिकाका प्रमुख डम्बर अर्याल तथा उमप्रमुख भगवती नेपाल दुबै जना नगरपालिकामा नभएपछि उनिहरुले शिक्षा शाखामा बुझाएका हुन् ।
व्यवस्थापन समिति लामो समयदेखि रिक्त रहदा बिद्यालयको व्यवस्थापन तथा पठन पाठन समेत प्रभावित हुने साथै सिङ्गो गाउँको शैक्षिक अवस्थामा नै प्रभावित हुने हुँदा अभिभावकहरुले नगरपालिकामा नै पुगेर ध्यानाकर्षण गरिएको बिद्यालयको अगुवा अभिभावक तथा युवा नेत्री कुमारी तामाङले बताउनुभएको छ ।
बिद्यालय व्यवस्थापन समितिको गठन बिधि तथा प्रक्रियाको बारेमा मेलम्ची नगरपालिका शिक्षा ऐन २०७५ ले स्पष्ट रुपमा अभिभावक बर्गलाई अधिकार प्रत्यायोजन गरेको अवस्थामा अभिभावक बर्गलाई बेवास्ता गरी व्यवस्थापन समिति निर्माण गर्न खोजिएपछि सो बिद्यालयमा व्यवस्थापन समिति गठनमा बिबाद भएको छ ।
अभिभावहरुले नगरपालिकामा बुझाइएको ज्ञापन पत्रमा “मेलम्ची नगरपालिका शिक्षा ऐन २०७५ को मर्म अनुसार हामी स्थानीय अभिभावकको मतलाई कदर गरी हामीले हामी बिचबाट छनौट गरेको अध्यक्ष सहित बिद्यालय व्यवस्थान समिति शिघ्र गठन गरियोस् भनी हामी तपसिल बमोजिमका अभिभावकहरु निवेदन गर्दछौं ।
साथै उल्लेखित ऐन बिपरित कार्य भएको खण्डमा हामी कानुन बमोजिमको जुनसुकै कदम चाल्ने कुराको जानकारी सहित माग बमोजिम यथाशिघ्र बिद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया तय गर्नको लागि बिनम्र अनुरोध गर्दछौ ।”भनिएको छ ।
सोही बिषयमा बुधबार पनि जिल्ला प्रशासन कार्यालय र शिक्षा बिकास तथा समन्वय इकाइमा समेत ज्ञापन पत्र बुझाउने तयारी रहेको अभिभावक कुमारी तामाङले जानकारी दिनुभएको छ ।