इन्द्रावती ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१२ भिमटारका पुन्टे माझीकी आमा पार्वती माझी १३ वर्ष देखि घरबाट बेपत्ता भइन । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आमा पार्वतीको आश मारिसकेको थियो । बिगत १३ बर्ष पहिले श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई काठमाडौँको तार्केश्वरमा रहेको नवजीवन परोपरोकार समाजले पुनर्मिलन गराइदिएको छ ।
पार्वती आमाले छाडेर हिँडदा जेठा छोरा पुन्टे १३, माइला सन्तोष १२ र कान्छा सेतुराम १० वर्षको हुनुहुन्थ्यो । अहिले जेठा छोराले विवाह गरिसकेका छन् ।
तेह्र वर्षसम्म सडक, चौपारी, पाटीपैवामा कष्टपूर्ण जीवन बिताउनुभएकी पार्वती अन्तत परिवारको सहारामा पुग्नुभएको छ । पार्वती घर फर्कदा श्रीमान् पूर्णबहादुर माझी सहित परिवारका सबै सदस्य औधी खुशी भएका छन् उनिहरुका आँखाबाट आशु बगिरहेका थिए ।
धादिङ सदरमुकाममा होटल व्यवसाय गर्ने उषा श्रेष्ठले सडकमा फालेको फोहर टिपेर खाँदै गरेको देखेपछि केही दिन आफैसँग राखेर पार्वतीको पालनपोषण गरेकी थिइन् । पछि उनले नवजीवनको जिम्मा लगाइदिइन र संस्थाले उनलाई काठमाडौँ ल्याई आश्रममा राख्यो ।
पार्वती भेटिएको खबरले गाउँले पनि खुशी भएका छन् । ल्याउने खबर सुनेपछि गाउँलेहरु उहाँलाई हेर्न घरमा भरिभराउ थिए । पार्वतीको उद्वार गरी घर ल्याउने क्रममा सहयोग गर्ने धादिङका होटल व्यवसायी श्रेष्ठ र काठमाडौँमा बेवारिसे तथा अन्य हिसाबले दुःख पाएकालाई उद्वार गरी आफ्नै आश्रममै लगेर पालनपोषण गर्ने काममा लाग्नुभएका दाहाललाई परिवारले धन्यवाद दिएको छ ।