राजन बस्नेत ,दोलखा २८ पुस ।
एक सय पाँच वर्षको उमेरमा नागरिकता लिने दोलखाकै पहिलो नागरिक दुर्गामाया कार्की बनेकी छ्न । दोलखाको मेलुङ गाउँपालिका ३ घ्याङकी एक सय पाँच वर्षीया वृद्धाले आज जिल्ला प्रशासन कार्यलय दोलखा बाट नागरिकता लिएकी हुन् ।
दोलखाको तामाकोसी गाउँपालिका– ४ मालुमा जन्मेकी कार्कीले मेलुङ– ३ घ्याङमा २००१ सालमा इन्द्रबहादुर कार्कीसँग विवाह भएको सर्जिमिन मुचुल्कामा खुल्न आएको छ । विवाह गर्दा आफू सानै रहेको र कति वर्षको थिएँ भनेर याद नरहेको उनले बताइन् ।
एक सय पाँच वर्षीया दुर्गमाया कार्कीलाई नागरिकता दिलाउन सिफारिस र कागजपत्र बोकेर मेलुङ– ३ घ्याङका वडाध्यक्ष हिरा थोकरसहित उनको माइती पक्ष मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय दोलखामा पुगेको थियो ।
कागजात सबै जुटेपछि केहीबेरमै बनेको नागरिकता प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले कार्कीलाई बितरण गरेका थिए ।
नागरिकतामा कार्कीको जन्ममिति वि।सं। १९७२ भदौ १८ कायम भएको सिवाकोटीले जानकारी दिए ।
भूकम्पपछि दुर्गमाया बस्दै आएको घर भत्किएको र पटक–पटक गुनासो फाराम भर्दा यसपालि उनको लाभग्राही सूचीमा नाम प्रकाशन भएको थियो । पुनर्निर्माण प्राधिकरणको प्रक्रियाअनुसार घर निर्माण सम्झौता गर्न नागरिकता आवश्यक पर्ने भएकाले उनले नागरिकता बनाउन चासो गरेको मेलुङ गाउँपालिका– ३ का वडाध्यक्ष हिरा थोकरले जानकारी दिए ।
नागरिकता बनेसँगै उनको घर निर्माण गर्न सामाजिक सुरक्षा भत्ता लिने बाटो खुलेको दोलखाका प्रमुख जिल्ला अधिकारी सिवाकोटीले बताए । सिवाकोटीले उनको अंशकै कारण यसअघि नागरिकता नबनेको हुन सक्ने बताए । उनले एक सय पाँच वर्षको उमेरमा नागरिकता लिने दुर्गमाया दोलखाकै पहिलो नागरिक भएको जानकारी दिए ।
विवाहपछि घ्याङ गाउँमै उनकी एउटी छोरी जन्मिइन् । छोरी जन्मिएलगत्तै ०४० सालमा उनका श्रीमान् बिते । श्रीमान्को निधनपछि छोरी साथमा लिएर उनी पुनः माइत फर्किएर उतै बस्न थालिन् । ‘हजुरबुबा बितेपछि हजुरआमा र आमा यतै माइत बस्न थाल्नुभएछ,’ उनका नाति स्थानीय शिक्षक बाबुराम खत्रीले भने, ‘यता बस्न थालेपछि नागरिकता बनाउन जाऊँ वृद्धभत्ता आउँछ भन्दा कहिल्यै मान्नुभएन, अहिले वडाले भनेपछि आफैँले नागरिकता बनाइदेऊ भन्नुभयो ।’
एक सय पाँच वर्षको उमेरमा उनले श्रीमानकै थरबाट वंशजको आधारमा नागरिकता पाएकी छिन् । उनको नागरिकता बनाउन दुर्गमायाका भतिज गोकुलबहादुर कार्कीले सनाखत गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।