चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, सानोसिरुवारीका एक सय २५ जना किसानले दुहुनो भैंसी पाले बापत २० हजार रुपैंया वडा कार्यालयबाट अनुदान पाउने भएका छन् ।
नगरपालिकाको चालु आ.व.मा भैंसी पालन अनुदानको लागि विनियोजन गरेको २५ लाख रुपैंयाबाट एक सय २५ जना कृषकलाई २० हजारका दरले अनुदान वितरण गर्ने तयरी रहेको वडा नं. ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले जानकारी दिनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले भने सहकारीबाट सञ्चालीत डेरीमा दुध बेच्ने किसानलाई प्रतिलिटर ३ रुपैंया अनुदान दिइरहेको छ । यसरी भैंसीमा नै अनुदान दिँदा किसानहरु उत्साहीत भई भैंसी पालनमा वृद्धि हुने नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
वडा कार्यालयले भैसीपालक किसानहरुलाई अनुदान रकम दिनको लागि गठन गरेको छनौट समितीको अनुगमनको निर्णयको आधारमा बुधबार अनुदान सम्झौता गरेको हो ।
सुरुमा प्रतिभैैैंसी २५ हजारका दरले १०० वटा भैंसीलाई अनुदान दिइने भनिएको भएपनि किसानको उत्साहजनक उपस्थितीका कारण रकम घटाएर भैंसीको संख्या बढाइएको वडाध्यक्ष दुलालले बताउनुभयो । अनुदान रकम स्थानीय मैत्री साना किसान सहकारी संस्था मार्फत वितरण हुनेछ ।