चौतारा ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याकं संकलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणाली मार्फत आवेदन लिन थालेको छ ।
विभागले आज पत्रकार सम्मेलनमार्फत झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ ।
गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो ।
आजदेखि शुरु भएको अनलाइन आवेदन इच्छुक व्यक्तिले ६० दिनसम्म भर्न सक्नेछन् । चैतमा प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले छुटेका व्यक्तिले एक साताभित्र ती कार्यालयमा पनि फारम भर्न सकिने व्यवस्था मिलाइने विभागले जनाएको छ ।
फारम निःशुल्क हुने र गणक र सुपरीवेक्षक दुवै पदका लागि स्नातक तह वा सो सरहको शैक्षिक योग्यता चाहिने बताइएको छ ।
उम्मेदवारले प्राथमिकताका आधारमा आफूले काम गर्न चाहेको दुई क्षेत्र उल्लेख गर्न सक्नेछन् भने छनोटमा परेका उम्मेदवारलाई स्थायी बसोबास भएको ठेगानामा काम गर्न प्राथमिकता दिइनेछ ।