✍️ भूपि सरोवर ,माघ १२ ।
बर्षौअघि दुश्मनले चुडालिदिएको प्यारको मुना
भर्खर भर्खर फेरि टुसाउदै थियो
तर अब उसको मन टुसाउन मन गर्दैन
म सर्प होइन
मौसमअनुसार काँचुली फेर्दै हिड्ने
म छेपारो पनि होइन
जो मौसमअनुसार आफ्नो रङ्ग फेर्दै हिड्छ
म त प्रेमप्यासी हुँ
जसको कमिले जुनसुकै बेला पनि सास रोकिन सक्छ
मलाई त केवल
तिम्रो कोमल,निश्चल मन चाहिएको हो
सक्छ्यौ भने पठाइदेऊ साझबिहान बाडुलीसङ्गै
होइन भने सधैंका लागि पठाइदेऊ
नचुडिने बलियो अनि सुन्दर तिम्रो पछ्यौरी
मेटाउनेछु जिन्दगीभर तिम्रा यादहरू
झुण्ड्याइदिनेछु भित्तामा समय झुण्ड्याए जसरी
बेरेर पछ्यौरी यादहरूका घाँटीमा!
रचनाकारको ठेगानाः सिगास ०३ बैतडी, हालः काठमाडौं