माघ २० ।
रुसमा लेलिनको मृत्यु लगत्तैको एउटा ठूलै समारोहमा स्तालिनले लेलिनको घोर आलोचना गरेछन् । स्तालिनको उक्त अभिव्यक्ति त्यहाँ उपस्थित धेरैलाई चित्त नबुझे पनि उनको निरङ्कुसतादेखि सबै डराए ।
त्यसै बीचबाट एकव्यक्ति बोल्न खोजेका थिए तर उनी चुप भए । मञ्चमा बोलिरहेका स्तालिनले यो थाहापाएर कड्कदै उनलई सोधेः “के तिमीले मेरो बिरोध गरेको हो ?” ती मान्छेले मारिने डरले थरथर काम्दै भनेः “तपाईँले यिनै कुरा लेलिन छँदै किन गर्नु भएन ?” स्तालिनले अलिक नम्र भएर उत्तर दिएः “अहिले तिमी जसरी बोल्न सकिरहेका छैनौ, त्यतिबेला म त्यस्तै अवस्थामा थिएँ ।”
नेपालको राजनीति अहिले ठिक त्यस्तै स्थितिमा छ । देशका खास समस्याहरूका बारेमा विदेशी शक्तिका डरले बोल्न नसक्नाले जनताको चाहना एकातिर र नेपालका राजनैतिक दल अर्कातिर छन् ।
बहुसङ्ख्यक नेपालीको भावनालाई चुम्ने हो भने देशभक्ति र धर्म सम्बन्धि उचित निर्णय अहिले नेपाली राजनीतिको ठूलै गोटी बन्न सक्छ । राष्ट्रियताको मामलामा भारतसँग थरथर कामेको काङ्ग्रेस नेतृत्वमा चन्द्र भन्डारी र धर्म निरपेक्षताका बारेमा पश्चिमी क्रिस्तानहरूसँग डराएको काङ्ग्रेसमा शशाङ्क कोइराला स्तालिनकै प्रजाको हविगतमा छन् ।
बहुसङ्ख्यक नेपाली जनतालाई झुक्याएर विदेशी शक्तिको आडमा तत्कालीन राजनैतिक पार्टीहरूले राजतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताका बारेमा निर्णय गरेका हुन् भन्ने हल्ला सर्वत्र भइसकेको छ । यदि आमचुनाव भएको भए परिणाम अहिलेको जस्तो संविधान बन्थ्यो होला भन्न सकिन्न ।
नेपाली जनताको हृदयबाट हटिनसकेका उक्त कुरा आजको नेपाली राजनीतिका खुला मैदान हुन् । त्यस मैदानमा चारो छर्न सक्ने व्यक्ति नै चराको धनी हुन्छ । छिमेकका दृष्टिले पनि हिन्दू धर्म ठूलो सङ्ख्यामा रहेका भारतीय जनताहरूको चहाना हो भने दलाइ लामाबाट दिक्दार चीन पनि हिन्दू धर्मप्रति उदार छ । नेपालका बौद्धहरू क्रिश्चियनबाट दिक्दार छन् भने मुसलमानहरू पनि भारतमा भन्दा आफूहरू नेपालमै सुरक्षित ठान्दछन् । यस्तो स्थितिमा पाश्चात्य पादरीको इसारामा धर्ममाथिको राजनीतिले नेता र जनताका बीच दुरी बढाएको छ । नेता र जनताका बीच दुरी बढ्नुको अर्को कारणा होः भारतप्रतिको प्रभुभक्ति ।
नेपालको राजनीतिक अप्ठ्याराका प्रमुख यिनै दुई शत्रुलाई जसले उचित सम्बोधन गर्न सक्छ त्यो नै अहिलेको सफल राजनेता हो ।भारतसँग नझुकी सीमा समस्या उठाउने ओलीले हालै पशुपतिमा पूजाअर्चना गर्नुले राजनीतिमा साङ्केतिक महत्त्व राख्तछ । प्रधानमंत्री ओलीको यस पूजाबाट पशुपतिनाथ त कति प्रसन्न भए होलान् भन्न सकिन्न तर नेपाली तथा भारतीय जनताको ठूलै हिस्सा भने आकर्षित भएको छ र राष्ट्रले पनि आफ्नै मौलिक संस्कृतिमा गर्व गर्ने आँट पाएको छ ।
जनता र राजसंस्थाको सहकार्यबाट आज यहाँसम्म आइपुगेको देशलाई भारतसँग र हिन्दू तथा बौद्ध धर्मलाई पादरीसँग सौदाबाजी गरेर सत्तामा खेलिरहेका राजनेताहरू भन्दा त एकछिनको लागि मार्क्सवादलाई छोडेरै भएपनि राष्ट्रवादलाई अँगालेकोमा बधाई छ प्रधानमंत्री ओलीलाई।