चौतारा, फागुन १०।
आज मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरु गरिएको छ ।
खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।
करिव ३० बर्ष पहिले सुरु भएको मेलम्ची खानेपानी योजना अन्तर्गतको मुख्य सुरुङमा पानी भरेर सफलतापूर्वक परीक्षण शुरु गरिएको हो ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । विगतको जस्तो दुर्घटना नहोस भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।