चौतारा, फागुन २२ ।
फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानमा सिन्धुपाल्चोकका २१ हजार १ सय १२ जनालाई खोप दिने तयारी गरिएको छ ।
उक्त सङ्ख्याका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिए ।
कार्यालयले पहिलो चरणको खोप अभियानमा छुटेकाहरूलाई पनि दोस्रो चरणको अभियानमा खोप लगाउने लक्ष्य लिएको छ ।
पहिलो चरणमा जिल्लामा रहेका २ हजार ९ सय ६९ जना लक्षित सङ्ख्या मध्ये १ हजार ३ सय २६ जनाले मात्रै खोप लगाएका थिए ।
दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि कार्यालयले ८२ वटा खोप केन्द्र निर्धारण गरेको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रत्येक खोप केन्द्रमा तालीम प्राप्त एक खोपकर्ता र तीन स्वास्थ्यकर्मी खटाइ सकिएको छ ।
सम्पूर्ण स्थानीय तहहरूमा खोप अभियान सफल पार्न वडा स्तरीय देखि जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको छ भने खोप केन्द्रको सुपरिवेक्षण र अनुगमन गरिने भएको छ ।
खोप अभियानको पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने व्यक्ति, एम्बुलेन्स चालक, सरकारी, स्थानीय तह तथा संस्थानका कर्मचारी, जनपद एवं सशस्त्र प्रहरी, जनप्रतिनिधि, पत्रकार र बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई खोप लगाइएको थियो ।