चौतारा, चैत्र १० ।
चौतारा साँगाचोकगढी नगरापालिका वडा नं. ४ कुबिण्डेका ५६ कृषकहरूलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिको अनुदानमा ११ वटा र वडा कार्यालयको अनुदानमा ४५ वटा गरी ५६ वटा ट्याक्टर वितरण गरिएको हो ।
मङ्गलवार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सीं तामाङले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेका हुन् ।
हाते ट्याक्टर कृषकहरूलाई हस्तान्तरण गर्दै नगरप्रमुख तामङले नगरपालिकाले कृषि आधुनिकीकरणमा निकै ठुलो सहयोग गरेको र कृषकलाई गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने समेत बताए ।
चौतारा नगरपालिकाले नगर बासीलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका बिउ बिजन लगायतको औषधिहरू समेत अनुदानमा सहयोग गरिरहेको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यस वर्ष मात्रै नगरपालिका भित्रका १ सय ६० किसानलाई हाते ट्याक्टर बाडने तयारीमा रहेको नगरप्रमुख तामाङले जानकारी दिए ।
पछिल्लो समयमा गाउँघरमा युवा जमातहरूको पलायनले गाउँमा काम गर्ने मानिसको अभाव भएको अवस्थामा हाते ट्याक्टरको प्रयोगले काम गर्न निकै सहज र छिटो हुने हुँदा निकै नै प्रभावकारी रहेको वडाध्यक्ष चूडामणि नेपाले बताए ।
कृषकहरूको पनि लगानी रहने गरी ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिका वा वडाको अनुदानबाट ट्याक्टर वितरण गरिएको वडाध्यक्ष नेपालले बताए ।
कुबिण्डेमा एक घर एक हाते ट्याक्टर पुर्याउने अभियान रहेको समेत उनले बताए ।
सिन्धुपाल्चोकको दुग्ध र आलु उत्पादनको हिसाबले प्रख्यात कुबिण्डे कृषि, पशु तथा दुग्ध उत्पादनमा आत्मनिर्भर भइ आफ्ना उत्पादन विभिन्न बजारहरूमा निर्यात समेत गरिरहेको छ ।
स्थानीय सरकार भएपछि मात्रै ४ नं. वडाले १ सय ६८ वटा ट्याक्टर वितरण गरिसकेको वडाको कम्प्युटर अपरेटर मिना शर्माले जानकारी दिइन ।