चौतारा,चैत ११ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बधबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
छिमेकी मुलक भारतमा हाल कोभिड–१९ को प्रकोप बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भइरहेको सन्दर्भमा नेपालमा कोभिड–१९ को संक्रमण बढ्न नदिन थप स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्ने,गराउने निर्णय भएको प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
केन्द्रको बैठकले कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्न सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।