नयाँ अभियान सम्बाददाता,चौतारा, चैत्र १८ ।
सिन्धुपाल्चोक जिल्लामा साउन देखि हालसम्म ६४ जनाले आत्महत्या गरेका छन् ।
मंलबार आत्महत्याको जोखिम कम गर्ने उपायबारे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सरोकारवाला संग गरेको छलफलमा उक्त तथ्याङक प्रस्तुत गरेको हो ।
लिल्लाको मेलम्ची र चौतारा सांगाचोकगढि नगरपालिकामा साउन यता मात्र सबैभन्दा बढि १४ ÷ १४ जनाले आत्महत्या गरेका छन् । लिसंखुपाखर गाउँपालिका बाहेक सबैठाउँमा आत्महत्या गरेको रिपोर्ट प्रहरीको तथ्याङ्मा उल्लेख छ ।
छलफल कार्यक्रममा सिन्धुपाल्चोकमा दिनप्रतिदिन आत्महत्या गर्नेको संख्या बढदै गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एंव प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।
गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् ।सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा आत्माहत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।
जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको सभाहलमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा चौ.सा.ग.न.पा. उप–मेयर जानुका पराजुली, मेलम्ची उप–प्रमुख भगवती नेपाल , बलेफी गा.पा. उप–प्रमुख कमला श्रेष्ठ, ईन्द्रावती गा.पा. उप–प्रमुख मिरा अधिकारी लामा , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारी ,जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ अधिकृत दुर्गादत्त चापागाई, राष्ट्रिय अनुसन्धान प्रमुख तथा चौ.सा.ग.न.पा.का सम्पुर्ण वडा अध्यक्षहरु , मनोबिमर्शकर्ता, रेडक्रस, नगर स्वास्थ्य प्रमुख,क्याम्पस प्रमुख, सञ्चारकर्मि लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
सो छलफल कार्यक्रममा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी कार्ययोजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।