नयाँ अभियान सम्वाददाता,चौतारा,चैत २० ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले चौतारा नगरपालिका छिट्टै बालविवाह मुक्त नगर बनाउने उद्घोष गरेका छन् ।
शुक्रबार भएको बालविवाह न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख तामाङले सो कुरा उद्घोष गरेका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र दिगो मिडिया एण्ड रिसर्च प्रा.ली.को आयोजनामा भएको कार्यक्रमको सम्बोधन गर्दै नगरप्रमुख तामाङले भने “बाल विवाह न्यूनीकरणको लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढ्छ र छिट्टै बालविवाह मुक्त नगरपालिका बन्छ यसको लागि तपाईँहरू सम्पूर्णको सहयोगको अपेक्षा गर्दछु ।”
उनले भने “पछिल्लो समय विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको बालविवाहका घटना बढिरहेको छ, अब यस नगरपालिकाले बाल विवाह हुन नदिने विद्यालयलाई छनोट गरेर पुरस्कार गर्ने र बालविवाह हुने विद्यालयलाई कारबाही गर्ने छ ।”
बालविवाहले पार्ने असर र प्रभावका विषयमा एक हप्तामा एक परेड शिक्षकहरूले कक्षा चलाउन सकेमा पनि बालविवाहमा न्यूनीकरण आउने हुँदा विद्यालयमा सो कक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत उनले शिक्षकलाई निर्देशन दिए ।
यस्तै कार्यक्रममा नगरपालिकाको उपप्रमुख जानुका पराजुलीले समाजमा जटिल समस्याको रूपमा रहेको बाल विवाह न्यूनीकरणको लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन् । हामी सबै सरोकारवालाहरू प्रतिबद्ध भएर लागेमा बाल विवाह न्यूनीकरण सम्भव रहेको समेत बताइन् ।
यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१३ का वडाध्यक्ष रामप्रसाद गौतम जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश सापकोटा, पत्रकार माहासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिना, बहुमुखी क्याम्पसका सभापति तथा अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष मिलन लामा लगायत सबै वक्ताहरूले बालविवाह एक मानसिक रोग रहेको र यसको उपचार हामी सबै सरोकारवालाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा अधिवक्ता चन्द्र बस्नेतले बाल विवाह गरे गराएमा हुन सक्ने कानुनी सजाय र समाजको विद्यमान अवस्थाको बारेमा प्रस्तुति राखेका थिए ।
यस्तै चौताराका बाल अधिकारकर्मी ललित बहादुर रानाले प्रस्तुत गरेको बालविवाह,कारक तत्त्व,असर र न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयमा अन्तर्क्रिया तथा टिप्पणी समेत भएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, पत्रकार माहासंघ, नगरपालिकाका शिक्षक, विद्यार्थी, बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।