बैशाख २१, चौतारा ।
चौतारा साँगचोकगढी नगरपालिका भित्र कोभिड १९ को संक्रमितहरु बढन थालेपछि नगरपालिकले सर्वपक्षीय बैठकको आयोजना गरेको छ ।
मंगलबार कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि हालसम्म गरिएको गतिविधि, पूर्वतयारी एवम् थप कार्य गर्नका लागि सुझाव संकलन गर्ने हेतुले सरोकारवालाहरुसँग बैठक गरिएको हो ।
बैठकमा मेयर अमानसिं तामाङले दोस्रो चरणको कोरोना महामारी सुरु भएसंगै नगरभित्र आईसोलेशन केन्द्र संचालनलाई प्राथमिकता दिएको जानकारी दिए ।
मेयर तामाङले जिल्ला समन्वय समितिको भवनमा ९ , फिल्ड ट्रेनिङ सेन्टरमा १२ र चौतारा अस्पतालमा ५ गरि २६ बेडको आइसोलेशन सेन्टर संचालनमा ल्याइएको नयाँ अभियानलाई जानकारी दिए ।
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले चौतारा साँगाचोकदढी नगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि तीव्रता दिएपनी अन्य पालिकाहरुले त्यति तयारी नगरेको बताए । अधिकारी खनाले कोभिड १९ नियन्त्रणका लागि पूर्वतयारीमा तिव्रता दिन आग्रह गरे ।
गोरख बक्स गणका प्रमूख निर्मल श्रेष्ठले भाइरस नियन्त्रणसँगसँगै शव ब्यवस्थापनमा पूर्वतयारी अपुग रहेको भन्दै यसतर्फ पनि योजना बनाउन सुझाए । डिएसपी प्रकाश सापकोटाले केही समय कडा लकडाउन आवश्यक्ता रहेको बताए ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंलेले समुदायमा कोरोना भाईरस संक्रमण भूसको आगो जस्तै सल्किएको जानकारी गराउँदै होम आइसोलेशनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न र थप उपचारका लागि स्वास्थ्यकर्मीको सहभागितामा पालिकाले छुट्टै कार्यदल बनाएर परिचालन गर्नुपर्ने सुझाए ।
उपमेयर जानुका पराजुलीले कोभिड विरुद्धको युद्धमा सबै एक भएर लाग्नुको विकल्प नरहेको बताउँदै बैठकमा आएका सुझावहरुलाई कार्यन्वयन गरिने प्रतिबद्धता जाहेर गरिन ।
बैठकमा नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, उधोगि श्यामकृष्ण श्रेष्ठ, गैसस महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्मा, निर्माण ब्यवसायी संघका अध्यक्ष छत्र तामाङ लगाएतले कोभिड १९ नियन्त्रण र रोकथामका लागि आ आफ्नातर्फबाट सुझाब दिएका थिए ।