बैशाख २४, मेलम्ची ।
मेलम्ची नगरपालिका भित्र संचालित क्रसरहरुलाई नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाइएको छ ।
क्रसर उद्योगहरुले आबश्यक भन्दा बढीमात्रामा नदिजन्य पदार्थ उत्खनन् र भण्डारण गरेको पाइएपछि नगरपालिकाले भोलि (बैशाख २५ गते) बिहानबाट लागु हुनेगरी उत्खनन्मा प्रतिबन्ध लगाएको हो ।
नगरपालिका अनुगमन समितिको आज बसेको बैठकले बन्द गर्ने निर्णय गरे सँगै एक सुचना जारी गर्दै नगरपािलका भित्रका १० वटै क्रसरहरुलाई पत्र पठाएको हो ।
क्रसर व्यवसायीहरुले प्रारम्भिक बातावरणिय परिक्षण प्रतिबेदन बमोजिम उत्खनन गरिसकेको हुँदा नगरपालिकाले क्रसरहरु बन्द गरेको नगरप्रमुख डम्बर अर्यालले बताए ।
कतिपय क्रसरहरुले तोकिएको मापदण्ड भन्दा बाहिर गई ठुलो परिमाणमा ढुङगा, बालुवा जम्मा गरेको पाइयो, त्यसैले अब उत्खनन्मा रोक लगाउन आबश्यक देखिएको हुँदा रोक लगाएका हौँ मेयर अर्यालले नयाँ अभियानसंग भने ।
नगरपालिकाको संयुक्त टोलिले बैशाख १६ गते गरेको अनुगमनका क्रममा क्रसरहरुले मापदण्ड भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि बैशाख १८ गते भित्रमा बढी उत्खनन् भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिएको थियो ।
इन्द्रावती नदि क्षेत्रमा रहेका अधिकांश क्रसरहरुले नदिको धार नै परिवर्तन हुने गरि मापदण्ड विपरीत उत्खनन् गर्दै आइरहेका छन् ।