बैशाख ३१, चौतारा ।
कोरोना कहरको दोस्रो लहर शुरु भए सँगै कोरोना नियन्त्रण चौतारा साँगाचोकगढी नगरपालिकाले उल्लेख्य भुमिका शुरु गरेको छ ।
नगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुुदिन बढेसंगै नगरपालिकाले टोल टोलमा नै पुगेर नगरबासिको नमुना स्वाव संकलन गर्न शुरु गरेको हो ।
नगरपालिकाका स्वास्थ्यकर्मीको टोली टोल टोलमा नै पुगेर स्वाब लिने गरेका छन् ।
नगरपालिकाले आज (शुक्रबार) मात्रै नरगपालिका भित्रका २ सय ६३ जनाको नमुना स्वाब संकलन गरेको छ ।
नरगपालिकाको वडा नं. १० को सुकुटे बजार १ सय ३१ र वडा नं. ११ मा १ सय ३२ जना गरी जम्मा २ सय ६३ नगरबासीको स्वाब संकलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश नेपालले जानकारी दिए । यसअघि संक्रमित भएकाहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो । कोरोना सक्रमितको सम्पर्कमा आएकाहरुमा पनि संक्रमण हुन सक्ने हुँदा उनिहरुको परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख नेपालले बताए ।
उनले हालसम्म नगरपालिकाले १ हजार नौ सय ५० जनाको स्वाब संकलन गरिसकेको समेत नयाँ अभियानलाई जानकारी दिए ।
स्वास्थ्य टोलीले हालसम्म चौतारा, कुबिण्डे, साँनोसिरुवारी, ठूलोसिरूवारी, पीपलडाँडा, जल्केनी, कदमबास लगायतका गाउँमा स्वाब लिएको छ । स्वाब संकलन नगरपालिकाका सबै टोल तथा गाउँमा गरिनेछ ।
आइतबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्यउलेमा स्वब संकलन गरिने तयारी रहेको छ । जुन वडामा आजसम्म कुनैपनि कोरोना संक्रमित भेटिएका छैनन् ।
नगरपालिकामा हालसम्म २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य ४ जनाले ज्यन गुमाएका छन भने ३४ जनाले भने कोरोनालाई परास्त गरेर घर फर्किसकेका छन् ।