जेष्ठ ९, चौतारा ।
सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएको छ।
शनिबार उनका सचिवालय सदस्य गोबिन्द पाठकले जिल्ला कोभिड १९ रोकथाम तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हन् । शनिबार हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा २१ लिटरको एक थान अक्सिजन कन्सन्टेटर, एन–९५ मास्क १०० थान, सर्जिकल मास्क एक हजार थान, पिपिई सेट ३० थान, स्यानिटाइजर लगायत रहेका छन् ।
तत्काल १०० थान भरिएको अक्सिजन सिलिण्डर, २० थान अक्सिजन कन्सन्टेटर र दुई हजार थान एन्टिजेन किट जिल्लामा आइपुग्ने सभामुखका स्वकिय सचिव पाठकले जानकारी दिए । बाँकि सामग्री क्रमशः जिल्लामा पुग्ने व्यवस्था मिलाइएको उनले कार्यक्रममा जानकारी दिए ।
यस्तै सभामुखको पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम समेत अघि बढेको छ ।
सभामुख सापकोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको योजनामा संसोधन गरी पन्ध्र लाख रकम अक्सिजन प्लान्ट स्थापनाका लागि छुट्याएका उनको सचिवालयले जनाएको छ ।
सभामुखको पहलमा स्वास्थ्य सेवा विभागबाट प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री सापकोटाको सचिवालय मार्फत जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनका स्वकिय सचिव गोविन्द पाठकले सो जानकारी दिए ।
केही हप्तामै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको कामले मूर्तरुप पाउने पाठकले जानकारी दिए ।
यस्तै जिल्लाबाट संकलित ५३ थान अक्सिजन सिलिण्डर भर्ने क्रममा रहेको र यसै हप्ता जिल्लामा पुग्ने व्यवस्था मिलाइएको स्वकिय सचिव पाठकले बताए ।
कोभिड–१९ का कारण समस्यामा परेका परिवारका ५० बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिएको र यो क्रम जारी रहेको उनको भनाई छ ।