जेष्ठ १०,चौतारा ।
सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
सभामुख सापकोटाको बिशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि ७५ लाख बिनियोजनको लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।
मन्त्रालयले आइतबार अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता को लागि पत्र काटिसकेको छ ।
मन्त्रालयले बजेट बिनियोजना गरे संगै अबको केहि सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले पुर्णता पाउने सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले चौतारा अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि सांसद बिकास कोषको रु १५ लाख छुट्टयाइसकेका छन् ।
कोभिड १९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि चौतारा अस्पतालको माग अनुसार स्वास्थ्य र अर्थ मन्त्रालय सँगको समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका थिए।
जिल्ला अस्पताल चौतारा र जिल्लाका अरु स्वास्थ्य संस्थाहरुमा अक्सिजनको चरम अभाव भएपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएको भन्दै स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो ।