जेष्ठ १२, चौतारा ।
सिन्धुपाल्चोकका ५ राजनैतिक दलहरु प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएका छन् ।
मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अनिश्चयको भुमरिमा हालेको भन्दै जिल्लाका ५ दलहरुले विरोध जनाएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधव पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सिन्धुपाल्चोकले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्पति भण्डारीको कदमको विरोध जनाएका हुन् ।
नेपाली कांग्रेसका सभापति विकास लामा, माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुली, एमाले माधव पक्षका जिल्ला अध्यक्ष झम्क नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष जगत बहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दिर्घ बहादुर सुवेदीले हस्ताक्षर गरिएको बिज्ञप्तिमा नेपाली जनताको कठोर, बलिदान र त्यागबाट प्राप्त नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को कार्यान्वयन पश्चालतको पहिलो संसद विघटन गरेर ओली र भण्डारीले संविधानलाई मुर्छित बनाएको आरोप लगाइएको छ।
विश्वासको मत लिन नसकेर संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हान गर्दा विपक्षी दलबाट प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा जाँदा समेत प्रधानमन्त्री ओलीले आफूसँग नै बहुमत छ भन्दै राष्ट्रपतिलाई आफ्नो रबरस्ट्याम्प बनाएर संसद विघटनको सिफारिस गर्नु संविधान र लोकतन्त्र माथि नै प्रहार भएको पाँच दलको निष्कर्ष छ ।
कोरोना महामारीमा सबै ध्यान महामारी नियन्त्रणमा लाग्नुपर्नेमा चुनाव गराउने बहाना निरङ्कुश सत्ता लम्ब्याएर देशलाइृ भयावह र कहालीलाग्दो दुस्चक्रमा पुर्याउने बाहेक अरु केही नभएको जारी विज्ञप्तिमा उल्लेख छ । ओली र भण्डारीको यो कदमको हामी घोर निन्दा र भत्र्सना गर्छौ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्पति र प्रधानमन्त्रीको यस्ता क्रियाकलामको राजनैतिक र कानुनी प्रक्रियाबाट संयुक्त रुपमा लडाई लड्न पाँच दल कटिबद्ध रहेको जनाइएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगमनको विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र वलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रीक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरी राष्ट्रय हितको रक्षाका लागि दृढता पुर्वक अगाडि बढ्न हामी जिल्लाका संपूर्ण राजनैतिक दल तथा जनसमुदायमा हार्दिक आह्वान गर्दछौं विज्ञप्तिमा भनिएको छ।
यसअघि हिजो नै यी दलका भातृ संगठन विद्यार्थी संगठन र युवा संगठनले संसद विघटनको बिरोध जनाएको थियो ।