जेष्ठ १३, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले तत्काल नगरभित्रका ३० हजार जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।
बिश्वभर कोभिड–१९ को दोस्रो लहरबाट दिन प्रतिदिन ग्रस्त भइरहेको सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाको बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्रका ५१ हजार जनसंख्या मध्ये तत्कालै ३०हजार जनसंख्याका खोप लगाउने निर्णय गरेको नगरप्रमुख अमान सिं तामाङले जानकारी दिए ।
नगरबासिलाई खोप लगाउन बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले खोप आफैँ किन्ने निर्णय गर्दै खरिदको लागि अनुमित दिन संघीय सरकारसँग माग समेत गरेको नगरप्रमुख तामाङले बताए ।
यस महामारीबाट जोगाउनको लागि खोप एक मात्र उत्तम विकल्प रहेको सन्दर्भमा सम्भव भएसम्म संघिय सरकारबाट माग गर्ने र सम्भव नभए नगरपालिका आफैले कोभिड–१९ को खोप खरिद गरी नागरिकहरुलाई खोप प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय भए अनुसार खोप खरिदको लागि अनुमति माग गर्ने ठहर गरि बैठकले सो निर्णय गरेको नगरप्रमुख तामाङले बताए ।
बैठकको निर्णयपछि नगरले बिहीबारै खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सम्भव भएसम्म संघीय सरकारबाटै खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ, नगरले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।
कोरोनाको दोस्रो लहरयता यस नगरपालिकामा मात्रै ७ सय ३७ नगरवासी कोरोना संक्रमित भएको नगरपालिकाले जनाएको छ । हालसम्म ९४ कोरोनामूक्त भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।