जेष्ठ २३, मेलम्ची ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ३० लाख रुपैयाँ लागत पर्ने अक्सिजन उत्पादन मेसिन उपलब्ध गराएको छ ।
सिन्धुपाल्चोकमा कोरोनाको दर दिनानुदिन बढिरहेको अबस्थामा पार्टीले सो उपकरण सहयोग गरेको हो ।
राप्रपा सिन्धुपाल्चोकका नेताहरुको पहलमा केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराले निजि रुपमा खरिद गरिएको सो मेशिन आइतबार स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको राप्रपा नेतृ कुमारी तामाङले जानकारी दिइन् ।
जुम मिटिङ मार्फत अध्यक्ष जबरा स्वयमको उपस्थितिमा २९ लाख ७३ हजार पर्ने सो उपकरण स्वास्थ्य केन्द्रका डा. आशिष श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
सो सामाग्री हस्तान्तरण कार्यक्रममा जुम मिटिङबाट जोडिएका केन्द्रिय अध्यक्ष जबराले सिन्धुपाल्चोकका जनताको बिषयमा निकै चिन्ता व्यक्त गरेका छन् । ‘यो मेरो सानो सहयोग हा सिन्धुबासीको लागि मैले सकेको सहयोग गरिरहेको छु र आगामी दिनमा समेत सकेको सहयोग गर्नेछु’,उनले भने ।
उक्त उपकरणले विद्युत हुँदा २४ घण्टा नै सेवा प्रदान गर्ने छ भने विद्युत नहुँदा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गरि अक्सिजनको कमि भएका कोरोनाका विरामी लाई अक्सिजन उपलब्ध गराउन टेवा पुग्नेछ ।
अत्याधुनिक उक्त उपकरण हस्तान्तरण कार्यक्रममा केन्द्रिय सदस्यहरु चलन बहादुर तामाङ, बाबुराख खडका,उदय सापकोटा, जिल्ला अध्यक्ष गोपाल तामाङ लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।
राप्रपा सिन्धुपाल्चोक जिल्ला कमिटिले सम्पुर्ण स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री समेत सहयोग गरिहेको छ ।