जेष्ठ २३, चौतारा ।
जनहित ग्रामिण सेवा समितिले चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाहरुमा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
नेपाल हिल्फे बाइलिङ्ग्रीसको सहयोग र चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा संस्थाले स्वास्थ्य सामाग्री सहयोग बितरण गरेको हो ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि संस्थाले शनिबार र आइतबार प्रत्येक वडामा पुगेर सम्बन्धित वडाका वडाअध्यक्षहरुको उपस्थितिमा विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको संंस्थाका अध्यक्ष भरत सापकोटाले बताए।
संस्थाले बितरण गरिएको सामग्रीहरुमा १ लाख प्रति माक्स, २५ सय वटा स्यानिटाइजर, प्रत्येक स्वास्थ्य संस्थाको लागि बाफ दिने नेबुलाईजर मेशीन सेट, डिसइन्फेक्टेन्ट, अक्सिमिटर, थर्मोमिटर लगायतको सामाग्रीहरु रहेको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।
नेपाल हिल्फे बाइलिङ्ग्रीसका नेपाल प्रतिनिधि श्याम पण्डितले संस्थाले नगरपालिकामा स्वास्थ्य, शिक्षा लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको साथै हालको विषम परिस्थितिमा पनि नगरपालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको र अझै सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाको बिभिन्न बिकास बजेट नै कटौती गरेर स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपरिरहेको अवस्थामा यसरी गैरसरकारी संस्थाहरुले स्वास्थ्यको क्षेत्रमा सहयोग गरेकोमा नगर प्रमुख अमानसिङ तामाङले धन्यवाद व्यक्त गरेका छन् ।
स्वास्थ सामाग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उध्योग बाणिज्य संघका सदस्य उजार सिं तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्य सागर परियार लगायतको उपस्थिती रहेको थियो ।