असार ६, चौतारा ।
स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने प्रयास गरेको भन्दै नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नेपाल पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने प्रयास गरेकोमा माहासंघले सो आपत्ति जनाउदै ज्ञापनपत्र बुझाएको हो ।
यो सन्दर्भमा सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन समेत माहासंघले माग गरेको छ । प्रदेश सरकारको सो निर्णय फिर्ता नभए महासंघ आन्दोलनमा उत्रन समेत बाध्य रहने सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको भन्दै बागमती प्रदेश भित्रका सबै जिल्ला शाखाहरुले आज ज्ञापनपत्र बुझाएका हुन् ।
“देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशभित्र रहेको छ । नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् । अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको छ । तर ठिक त्यसको बिपरित बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ । एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको देखिन्छ ।” सो बिज्ञप्तिमा भनिएको छ ।