असार ७,चौतारा ।
गत असार १ गतेको बाढीबाट सर्वाधिक क्षति भएको हेलम्बु गाउँपालिकाका स्थानीयका लागि सिन्धु इन्जिनियरिङ समाज नेपालले राहत सामाग्री बितरण गरेको छ ।
समाजका महासचिव बिदुर कडेल र गुरु गणेश लाइट ब्लक उद्योगका प्रबन्ध निर्देशक कृष्णराज बन्जाराले संयुक्तरुपमा पालिका उपाध्यक्ष कोपिला पण्डितलाई सोलार, सोलार टर्च लाईट, त्रिपाल, म्याट, वाटर फिल्टर, साबुन र बालबालिका लक्षित कपडा हस्तान्तरण गरेको हो ।
राहत सामाग्री हस्तान्तरण गर्दै समाजका महासचिव कडेलले आवश्यकताको आधारमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । महासचिव कडेलले बाढी पीडितका बसोबासको प्रबन्ध मिलाउनका साथै पुनर्स्थापनाका लागि योजना बनाएर अघि बढ्ने पनि बताए ।
नयाँ नेपाल निर्माणका लागि प्राविधिक मोर्चा कसिरहेको समाजले सिन्धुपाल्चोकमा हुने गरेको बिपत्तिमा सहयोग समन्वय गर्दै आएको छ । यस अघि पनि कोरोना महामारीको समयमा समाजले जिल्ला स्वास्थ्य कार्यालय चौतारालाई स्वाब संकलन बुथ सहयोग गरेको थियो ।
समाजले इन्जिनियरिङ पेशामा आबद्ध रहेका र अन्य सहयोगी ब्यक्ति र संघ संस्थाहरु संग सहयोग संकलन गरि राहत बितरण गरेको समाजका सन्देश श्रेष्ठले जानकारी दिए ।