मेलम्ची, साउन १७ ।
बस्ती संरक्षणमा स्थानीय सरकारले बेवास्ता गरेको भन्दै मेलम्ची बजारवासी आन्दोलित भएका छन् ।
विस्थापित भएको ४८ दिन बितिसक्दा समेत स्थानीय सरकार उदासीन रहेकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ ।
मेलम्ची बजारबाट नाराजुलुस गर्दै नगरपालिका भवनमा पुगेर नारा लगाउनुका साथै प्रभावित वासिन्दाले आक्रोश पोखे । मेलम्ची बजार बचाऊ समितिमा अगुवा सागर श्रेष्ठले स्थानीय सरकारले पहल गरेको भए बस्ती जोगाउन सक्ने बताए ।
अब त समय पनि गरिसकेकाले बस्तीमा बम पड्काइदिन अनुरोध गर्न नगर आएका हौं, श्रेष्ठले आक्रोश पोखे । उनका अनुसार स्थानीय सरकारले समयमै पहल गरेको भए मेलम्ची इन्द्रावती दोभानमा नदीलाई साविक बाटोमा हिँडाउन सकिने र बजार सुरक्षित रहने थियो । सक्ने काम हुँदाहुँदै पनि नगरपालिकाले बेवास्ता गरेको भनी गुनासो गरे ।
करोडौं लगानी गरेर बनाएका घर, फर्म खेतीयोग्य जमिन बगर बनेपछि बाढी प्रभावितको मन अझै बिचलित छ । दम्पतिको नाममा बचेको चार आना जग्गा पनि खोलाले कटान गरिरहेको देख्दा मन थाम्न नसकेको प्रभावित लक्ष्मी श्रेष्ठको भनाइ छ ।
आजको दिनसम्म पनि स्थानीय सरकारका प्रमुख, उपप्रमुख कोही पनि जनप्रतिनिधि बाढीग्रस्त क्षेत्रमा नपुगेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । आज मात्रै पनि मेलम्चीमा पुनः बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्चीमा १७ वटा घरटहरा बगायो भने मेलम्ची र हेलम्बुका विभिन्न वडा जोड्ने पुल पनि बगायो । त्यसअघि असार १ र १६ गते आएको बाढीले करोडौंको क्षति पु¥याएको थियो ।
बाढी प्रभावितहरु आफैंले पैसा उठाएर आफ्नो बस्ती आफैं बचाउने अभियान चलाइरहेका छन् । तर सरकारले आफूहरुलाई बेवास्ता गरेको उनीहरुले पटक पटक दोहोर्याएका थिए ।
तर प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले भने बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए । उनले पानी नै नगरीकन पनि बाढी आउनुले झनै खतरा भएको भन्दै यसको अध्ययन गर्न जरुरी रहेको बताए ।