चौतारा, साउन २८ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा “कोरोना महामारीमा शैक्षिक क्षति न्यूनीकरणका लागि युवाहरूको भूमिका”विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आयोजना गरेको सो कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्र, लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटी र ग्रामीण महिला सृजनशील परिवारको सहकार्यमा सम्पन्न भएको हो ।
पछिल्लो समयमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट ग्रसित बनेको शिक्षा क्षेत्रलाईलाई माथि उकास्न युवाले खेल्न सक्ने भूमिकाको विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण प्रसाद सुबेदीले “कोरोना महामारीमा शैक्षिक क्षति न्यूनीकरणका लागि युवाहरूको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
आजको यस सन्दर्भमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा उल्लेख भएको वैकल्पिक शिक्षण पद्धतिलाई सफल कार्यान्वयनमा युवाहरूलाई अग्रस्थानमा राखी प्रयोग र सञ्चालन गर्न आवश्यकता रहेको बताउँदै सुवेदीले आफ्नो गाउँ टोलमा रहेको स्रोत साधनको पहुँचको आधारमा विद्यार्थीको पहिचान गरी विभिन्न समूहमा वर्गीकरण गरी शिक्षालाई प्रभावकारी बनाउन सकिने बताए ।
उनले प्रस्तुत गरेको कार्यपत्रमा सबै किसिमको प्राविधिक पहुँच भन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो,एफ एम रेडियोमा पहुँच भएका विद्यार्थी समूह, टेलिभिजनमा पहुँच भएका विद्यार्थी समूह, कम्प्युटर भएका तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी समूह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधि साधनमा पहुँच भएका विद्यार्थीको समूह छुट्टाएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
सुबेदीले प्रस्तुत गरेका कार्यपत्र माथि सञ्चार कर्मी दिपक खत्री, सामुदायिक सारथिका जिल्ला संयोजक उमेश विश्वकर्मा, जनजाति माहासंघका जिल्ला उपाध्यक्ष हरीकुमार श्रेष्ठ, स्ववियू सभापति मिलन लामा, सिडिइसिएफका कार्यक्रम संयोजक हरी तिमल्सिना लगायतले टिप्पणी गरेका थिए ।
सो अन्तर्क्रिया कार्यक्रमको सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले युवाले चाहेमा असम्भव केही नरहेको बताउँदै यस बिषम परिस्थितिमा शैक्षिक क्षेत्रमा पुगेको क्षतिको न्यूनीकरणको लागि शुरु भएको यस अभियानले पक्कैपनि शैक्षिक क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । बिध्यार्थीको पहुँचमा रहेको स्रोत साधनको सही उपयोग गरी शैक्षिक गतिविधि सञ्चालन गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध समेत गरेका छन् ।
यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले नगर भित्रका बिद्यालयहरुलाई यस बिषम परिस्थितिमा पठन पाठनको निरन्तरताका लागि विकल्प खोजीको गर्न अनुरोध गरिसकिएको र बिद्यायहरुले ल्याएको रिपोर्टको आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने बताइन् । उनले सो कार्यक्रमको प्रशंसा गर्दै यस्तै अभियान जिल्लाभर सञ्चालन गर्नुपर्ने समेत बताइन् ।
यस्तै कार्यक्रममा आयोजक संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल सिन्धुपाल्चोककाका अध्यक्ष हर्क तामाङले अन्तर्राष्ट्रिय युवा दिवसको इतिहास र नेपालमा भएका गतिबिधिहरुको विषयमा स्पष्ट पारेका थिए ।
जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा शैक्षिक क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।
सो अन्तर्क्रिया कार्यक्रमले उपलब्ध स्रोत साधनहरूलाई युवाको अगुवाइमा हरेक टोलमा पुर्याउन सके हाल भई रहेको शैक्षिक क्षति न्यूनीकरण हुनुको साथै पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ सक्षमताहरू समेत हासिल हुने र शैक्षिक सत्रलाई समेत यावत रूपमा अगाडि बढाउन सहयोग पुग्ने निष्कर्ष निकालेको छ ।
आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको अध्यक्षतामा भएको सो अन्तर्क्रिया कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिका अध्यक्ष अर्जुन शर्माले सञ्चालन गरेका थिए ।