चौतारा,भाद्र १४।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराको गणेश मन्दिरमा पहिलो पटक कन्या पूजा गरिएको छ ।
रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने धार्मिक विश्वासका आधारमा चौतारामा कन्या पूजा गरिएको हो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा चौताराको पुरानोबजारमा रहेको गणेश मन्दिर परिषरमा कन्याहरुलाई आसन गराएर दर्शनार्थीहरु मार्फत कन्याहरुलाई पूजाआजा गरिएको हो ।
‘पहिलो पटक गरिएको यो पूजामा २५ कन्याहरुको सहभागिता रहयो’, नेवाःदेय दबुः चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं। ५ का अध्यक्ष ध्रुबलाल श्रेष्ठले भने– ‘कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष थोरैको संख्यामा कन्या पूजा गरिएको हो ।’आगामी वर्ष संक्रमणको जोखिम कम भए व्यापक रुपमा कन्या पूजा गरिने उनले बताए ।
धार्मिक मान्यतासँगसँगै सामाजिक संस्कारलाईलाई समेत टेवा पुर्याउनेने हेतुले कन्या पूजाको प्रारम्भ गरिएको उनको भनाई छ । ‘धार्मिक मान्यता त एकातर्फ छँदैछ, अर्कोतर्फ लैंगिक हिंसा, बालहिंसाको अन्त्य गर्न पनि यो पूजाको सुरुवात गरेका हौं’, श्रेष्ठले भने– ‘छोरीहरुलाई पूजा गर्नुपर्छ, हिंसा गर्नुहुँदैन भन्ने सन्देश दिनु हाम्रो मूल उद्देश्य हो ।’ कन्या पूजा गर्दा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने श्रेष्ठको भनाई छ ।
यस पर्वमा कन्याहरुलाई उच्च सम्मान स्वरुप पुजिने गरिन्छ । भोक भोकै बसेर कन्या पूजा गर्दा कन्याहरुलाई केही रोग नलाग्ने र आफूहरुले आटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको भक्तजनहरु बताउछँन् ।
नेवारी समुदायमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतिक मानि पूजा गरिन्छ । पर्वमा कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरीमाईको कुमारी मानी पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहदै आएको छ ।
मौलिक बाजागाजासहित कन्याहरुलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दक्षिणा र भोजन गराई पुजिने गरिन्छ ।
चौतारामा पहिलोपटक मनाईएको कन्या पूजाको आयोजना नेवाःदेय दबुः वडा नं। ५ समिति र नेवाः मिसा देय दबुः जिल्ला समितिले गरेको नेवाः मिसा देय दबुःको जिल्ला अध्यक्ष सीतादेवी श्रेष्ठले जानकारी दिईन् ।