बाह्रबिसे, असोज १३ ।
नागरिक समाज पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत आज बाह्रबिसे नगरपालिकामा सामाजिक जबाफदेहीताका औजारहरूको व्यवस्थापन तथा प्रयोग बारे अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नागरिकलाई सेवा प्रदान गर्न सामाजिक जबाफदेहिता सम्बन्धी औजारहरूको प्रयोग तथा यसको प्रभावकारिता बारे नगरपालिकाको समन्वयमा वडाका जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय सभाका सदस्यहरू बिच अनुशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम सामुदायिक सारथिले आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक अनिल खनालले अन्तर्क्रियामा सो बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा संस्थाका तर्फबाट तिन वटा कानुनको मस्यौदा समेत हस्तान्तरण गरिएको थियो । त्यसपछि सहभागीको धारणा राखिएको थियो ।
कार्यक्रममा सभाध्यक्ष बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले आगामी दिनमा हरेक कार्यालयले नागरिक बडापत्र , सूचना अधिकारी र सूचना अधिकारीको जानकारी बोर्ड, गुनासो पेटिका, सूचना पार्टी तथा प्रगति विवरण टाँस, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण जस्ता विषयलाई अनिवार्य व्यवस्थापनमा लाग्न अनुरोध गरेका छन् ।
साथै यस विषयको उठान गरेको र नगरपालिकालाई पारदर्शी र जावाफदेहि बन्नु पर्दछ भन्ने विषयमा झकझकाउने काम गरेकोले आयोजकलाई आभार प्रकट गरेका थिए ।
सुशासन, पारदर्शिता र जबाफदेहिता हरेक कार्यालयको लागि मूल मन्त्र हो । यसलाई व्यवहारिक बनाउन नेपालमा केही कानुनहरू पनि बनेका छन् । सुशासन ऐन २०६४ र यसको नियमावली साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ र यसको नियमावली मुख्यतः कार्यालयको कामलाई कसरी पारदर्शी बनाउने र नागरिकले सहजरुपमा कार्यालयका गतिविधि थाहा दिने वा थाहा पाउने भन्ने विषयमा केन्द्रित छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ र सुशासन ऐनको व्यवस्था अनुसार सरकारी निकाय पारदर्शी र जवाफदेहि हुन आवश्यक छ ।