१५ असोज , मेलम्ची
राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो महाधिवेशनपछि सडक आन्दोलनमा जाने भएको छ । बढ्दो भ्रष्टाचारको अन्त्य गर्दै देशमा हिन्दुराज्य र राजसंस्था कायम गर्न सडक आन्दोलनमा जाने पार्टीका केन्द्रीय अध्यक्ष पशुपतिशमशेर जबराले बताए ।
पार्टीको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ को प्रदेश क र ख तथा क्षेत्रीय अधिवेशनमा सहभागी हुन शुक्रबार मेलम्ची आइपुगेका राणाले आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेका छन् । जनताको जनमत लत्याएर कम्युनिस्टहरु आआफ्नै जुँगाको लडाइँमा लाग्दा देशभर भ्रष्टाचार मौलाएको उनले बताए ।
‘भ्रष्टाचार केन्द्रमा मात्रै सिमित रहेन,’ अध्यक्ष राणाले भने प्रदेश सरकार हुँदै स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको छ ।’ यसको विरुद्धमा राप्रपा सडक आन्दोलनमा जाने राणाले बताए ।
९४ प्रतिशतभन्दा धेरै सनातन धर्म मान्ने मान्छे भएको मुलुक धर्मनिरपेक्ष हुन नसक्ने भन्दै नेपालीलाई हिन्दुराज्य घोषणा गरिनुपर्ने उनले बताए । दलबाट चुनिएको प्रतिनिधि राष्ट्रप्रमुख हुन नसक्ने भएकोले पुरानै राजसंस्था फर्काउन समेत आन्दोलनको जरुरी रहेको राणाले बताए ।
आजको अधिवेशनले पार्टीको तीन तहको कार्यसमिति चयन गर्नेछ भने असोज २० गतेसम्म जिल्ला अधिवेशन समेत सम्पन्न गर्ने पार्टीको कार्यक्रम रहेको छ । खुल्लापानाबाट