रोहित शर्मा, चौतारा, कात्तिक ५ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले कुकुर बन्ध्याकरण सहित रेबिज बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।
बिहिबार बाट सुरु भई ७ दिन सम्म चल्ने अभियानमा पहिलो दिन ४० वटा कुकुर बन्ध्याकरण र ५५ वटा कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाइएको छ ।
अभियानको पहिलो दिन प्रयोगशाला स्थलमा पुगेका नगरप्रमुख अमान सिं तामाङले आफ्नो नगरपालिकामा भुस्याहा कुकुरको बिगबिगी रहेको र त्यसलाई नियन्त्रण गर्न पशुस्वास्थ्य बिज्ञान पठनपाठन गरिरहेको जनजागृती माध्यमिक विद्यालय साँगाचोकसंग समन्वय गरि यो शिविर राखिएको जानकारी दिए ।
उनले भने, ‘चौतारा साँगाचोकगढी नगरपालिका भित्र मात्रै यो अभियान चलाएर हुँदैन, अब छिमेकी पालिकाहरुले पनि यस्तो अभियान चलाउनुपर्छ नत्र कुकुर नियन्त्रण हुँदैन।’
नगरपालिकाको आर्थिक सहयोग, जनजागृती मावि साँगाचोक र हर्ट नेपालको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रम एक दिनमा २ वटा वडाको दरले नगर भित्रका १४ वटै वडामा तालिम प्राप्त प्राविधिक आफै उपस्थित भै छाडा कुकुरहरुलाई समातेर साँगाचोकमा स्थापना गरिएको प्रयोगशाला शिविरमा लगिने र बेहोस बनाइ बन्ध्याकरण गरिने साथै रेबिज बिरुद्धको भ्याक्सिन लगाई छोडिने नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक रविन्द्र सापकोटाले जानकारी दिए।
घरपालुवा कुकुरहरुलाई भने कुकुर धनी आफैंले प्रयोगशाला स्थलमा ल्याउनुपर्नेछ । घरपालुवा र छाडा गरि नगरपालिका भित्र मात्र १ हजार भन्दा बढी कुकुरहरु रहेको अनुमान गरिएको छ ।