अर्जुन शर्मा, चौतारा,कात्तिक १३ ।
संघिय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले उत्तरी नाका तातोपानीबाट छिट्टै सहज रूपमा व्यापार सञ्चालन हुने बताएका छन् ।
शनिवार आफ्नो गृह जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका सभामुख सापकोटाले अबको २० दिन भित्रमा तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुने बताएका हुन् ।
२०७२ सालको भूकम्पले सडकमा क्षति पुगेको कारण लामो समय बन्द रहेको नाका निकै ठुलो पहल र प्रयत्नबाट खुलेको भएता पनी पर्याप्त मात्रामा मालसामान आयात हुन नसकेकोमा दुख व्यक्त गर्दै उनले अब छिट्टै नाका पूर्ण रूपमा सञ्चालन हुने र व्यापारमा सहजता आउने बताएका हुन् ।
‘चिनियाँ पक्षको सम्बन्धित व्यक्तिहरूसँग छलफलमा जुटिरहेको र चिनियाँ पक्षले नाका सहज रूपमा सञ्चालन गर्न सकारात्मक रहेको कारण अबको २० दिन भित्रमा पूर्ण रूपमा नाका खुल्छ’ उनले भने ।
उत्तरी नाका तातोपानीबाट हाल दैनिक १२ देखी १५ वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नाकाबाट पर्याप्त मात्रामा कन्टेनर नेपाल भित्रन नपाउदा दशैको लागि हालेको सामान हालसम्म पनि आइनपुगेको व्यापारीहरुको गुनासो रहेको छ ।
नेपाल राष्ट्रिय वाणिज्य बैङ्कको २ सय ५० औँ शाखाको रूपमा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बिस्तार भएको चौतारा शाखाको उद्घाटन गर्न आएका सापकोटाले संघिय संसद् र नेपाल राष्ट्रिय वाणिज्य बैङ्कका बिच गाढा सम्बन्ध रहेको समेत बताएका छन् । सरकारी बैकलाई जोड दिने र निजी बैङ्कहरूलाई ध्यान दिने नीति लिएको अवगत गराउँदै सरकारी बैङ्कले बिश्वसानियता कायम गरिसकेको समेत उनले बताए ।
संघिय संसद्ले सभामुख सापकोटाकै पहलमा प्रधानमन्त्री सहित सम्पूर्ण संसद् सहित कर्मचारीहरूको खाता निजी बैङ्कबाट नेपाल राष्ट्रिय वाणिज्य बैङ्कमा सारिएको थियो ।
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सीं तामाङ, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, सुरक्षा निकायका प्रमुख तथा जिल्लाका विभिन्न पार्टी नेताहरुकोे उपस्थिति रहेको थियो ।