चौतारा, मंसिर १० ।
चौतारा साँगाचोकगढी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सम्पूर्ण वडाहरूमा सचेतना सहितको र्यालि र अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।
घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ सुरु गरिएको १६ दिने अभियानको दोस्रो दिन आज चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रमले सो निर्णय गरेको हो
आज भएको छलफलले नगरपालिकाले नगर स्तरीय महिला सञ्जालसँग सहकार्य गरेर कार्यक्रम गर्ने निचोड निकालेको हो ।
महिला हिंसा अन्त्य तथा महिला मैत्री नगरपालिका बनाउनको लागि नगरपालिकाले सबैसँग सहकार्य र समन्वय गरेर कार्यक्रम तय गरी सञ्चालन गर्न लागिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।
१६ दिने अभियानको सुरुको दिन नगरपालिकाले विभिन्न संगसस्थासंग सहकार्य गरेर चौतारामा हिंसा विरुद्धको अभियानको लागि चौतारा बजारमा र्यालि समेत गरेको थियो ।
अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले सबै एक भएर अगाडि बढेमा लैङ्गिक हिंसा अन्त्य गर्न सकिने बताएका छन् ।
यस्तै नेपाल पत्रकार माहासंघका अध्यक्ष जिवन श्रेष्ठले हिंसा अन्त्य गर्नको लागि सुरुमा हिंसा उत्पन्न हुनुको कारणको खोजी गर्नुपर्ने र सोही अनुसार कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए ।
नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख राजन अधिकारी, नेपाल पत्रकार माहासंघका अध्यक्ष तथा विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।