बराम्ची,मंसिर १० ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकाको सम्मेलनबाट रेशम स्याङ्बो अध्यक्ष चयन भएका छन् ।
शुक्रबार भएको सम्मेलनले अध्यक्षमा स्याङ्बो सहित उपाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु र बहादुर गोले, सचिवमा तुलनाथ घिमिरे, सह–सचिव जंगबहादुर तामाङ र कोषाध्यक्ष चीनलाल श्रेष्ठसहित ५० सदस्य निर्वाचित भएका छन् ।
कार्यक्रमकै बीच एमाले र नेपाली कांग्रेस परित्याग गरी २ सय ५० भन्दा युवाहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको ३ कार्यकाल गाविस सभापति चलाएका गजेन्द्र थापा, एमालेका युवा नेता प्रदीप श्रेष्ठ, सुमन श्रेष्ठ, २०५४ सालमा एमालेबाट वडा अध्यक्ष निर्वाचित टंक श्रेष्ठ लगायत २ सय ५० भन्दा बढी युवाहरु प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटा, बाग्मति प्रदेश सल्लाहाकार समिति सदस्य तथा चौतारा साँगाचोकगढीका प्रमुख अमानसिङ तामाङ, बाग्मति प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा लगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा नेता सापकोटाले नवप्रवेशी युवाहरुलाई आफ्नो क्षमता अनुसार जिम्मेवारी दिएर अघि बढाउने प्रतिवद्धता जनाए । ‘माओवादी केन्द्र सर्वहरा वर्गको पार्टी हो, यो सबैको साझा पाटी हो,’ उनल भने– ‘समाज परिवर्तन गर्नको लागि सुख दुःखमा साथ दिएर हामी सबै अघि बढ्नुको विकल्प छैन ।’
चौतारा साँगाचोकगढीका प्रमुख तामाङले माओवादी पार्टी परिवर्तनको संवाहक भएको भन्दै जनताको साथी भनेको नै माओवादी केन्द्र भएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपालचोक जिल्ला सदस्य एवम् जुगल गाउँपालिका ईन्चार्ज पदमबहादुर श्रेष्ठ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्लाको अध्यक्ष अम्बिका नेपाल, विद्यार्थी नेता, युवा नेतालगायतको सहभागिता थियो ।