चौतारा,२२ मंसिर ।
परपुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानकी २८ वर्षीय निमा साङ्बो तामाङ सोमबार ३९ वर्षका आफ्नै श्रीमान छेवाङ लामाकोको हत्या आरोपमा प्रकाउ परेकी हुन् । लामाको हत्या अभियोगमा प्रहरीले निजकी श्रीमती साङ्बो तामाङ र सोही स्थानका ३६ वर्षका कान्छालाल लामा पक्राउ गरेको छ ।
हाल मात्रै बैदेशिक रोजगारबाट घर फर्केका श्रीमानले परपुरुषसँगको अनैतिक सम्बन्ध थाहा पाउने डरले परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्केका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस्तो छ घटनाक्रम
मृतक लामाको घर र ससुराली एउटै गाउँ हो भने शंकित लामा समेत सोही स्थानका बासिन्दा हुन् । मृतक लामा ससुराली घरमा साँझ खाना खाएर घर फर्किने क्रममा ससुराली घरबाट करिब १ सय मिटर पर उनको हत्या भएको थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालोलाई बोलाएको भएपनि डरको कारण सालो केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गए ।
घरमा भिनाजु नदेखेपछि उनीहरु पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी शुरु भएको थियो । बाटोभन्दा केही तल अर्थनङ्न भइ खोल्सामा घोप्टो परी नलले छोपिएको अवस्थामा शब फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
तत्काल प्रहरी चौकी तेम्बाथान कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिई गई घटनास्थलको छानविन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।