चौतारा, मंसिर २७ । स्थापनाकाल देखिनै भाडामा बसेर प्रशासनिक काम गर्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ ।
आज एक समारोहका विच नगरपालिकाका मेयर अमानसिं तामाङले सो भवनको उद्घाटन गरेका छन् ।
लामो समय भाडाको घरबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले पछिल्लो समय तत्कालीन कृषि विकास कार्यालयको भवनबाट प्रशासनिक कामकाज सञ्चालन गरिरहेको थियो ।
‘हामी निर्वाचित भएर आँउदा आफ्नो लागि बस्ने कोठा समेत थिएन ।’ नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने —‘अब भने हामीलाई जनताको सेवा गर्न झन् धेरै सहज हुनेछ ।’ अहिले नगरपालिकाले सबैजसो वडा कार्यालयको भवन समेत निर्माण गरिसकेर आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको उनले बताए ।
नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार खर्च गरी सो भवन निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले बताए । ‘जनप्रतिनिधिहरूको निर्वाचन अगाडि नै २०७२ सालमा ९ कराेडको प्राविधिक इस्टीमेटमा सो भवनको डीपीआर तयार भएको थियो ।’ पौडेलले भने —‘जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि उहाँहरूको तदारुकतामा २०७४ सालबाट निर्माण कार्य शुरु गरी ३ वर्षमा सम्पन्न गरिएको हो ।’