चौतारा, पुष २३।
नेकपा एमाले सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशनको उदघाटन सत्र आज बाह्रविसेमा सम्पन्न भएको छ ।
बन्दसत्र आइतबार जिल्ला सदरमुकाम चौतारामा गर्ने र नेतृत्व चयन गर्ने भनिएतापनि नेतृत्व चयनको लागि भने पार्टिभित्र सकस देखिएको छ । नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि नेतृत्व छान्न सकस परेको हो ।
जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, वर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री र गाउँपालिका महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठलले दाबी गरेका छन् ।
दश बुँदे पक्षधर कमल नेपाललाई नेतृत्व प्रदान गर्ने ‘ग्रिन सिग्नल’ दिएको कुरालाई आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजाले हल्लामात्र भएको बताए । अध्यक्षको दाबी गर्दै आएका केदार क्षेत्रीले आफु कुनै पनि हालतमा पछि नहट्ने बताए । केन्द्रिय महाधिवेशनमा आफुलाई प्रदेश वा जिल्लामा उचित स्थान दिने आश्वासन आएकोले आफु पछि नहट्ने क्षेत्रीको दाबी छ ।
ओली पक्षबाट जिल्ला अध्यक्षमा होम नारायण श्रेष्ठ र बालकृष्ण देउजाको दौडधुप छ। भने सचिवमा जेपी सिलवाल, चन्द्र थिङ, बिष्णुमती आचार्य आकांक्षी छन्।
यता, माधव नेपालले पार्टीबाट विद्रोह गर्दा १० बुँदे सहमतिमा एमालेमै रहेका समूहबाट अध्यक्षमा कमल नेपाल, केदार क्षेत्रीले दाबी प्रस्तुत गरिरहेका छन्। उपाध्यक्षमा जरा लामा र सचिव कृष्ण गोपाल तामाङ, सोम बम्जन, ईन्द्र तामाङलगायले आकांक्षा व्यक्त गरिरहेका छन्।
एमाले सिन्धुपाल्चोकमा अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्नेछ ।
५८७ बाट १०५ सदस्यीय कमिटी बनाउन एमालेलाई फलामको चिउरा चपाउनु सरह छ । ४० वर्ष वढि एमालेमा सक्रिय सुभाष कर्माचार्यले पार्टी परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न सकेका छैनन् ।