२६ पुस, चौतारा ।
सिन्धुपाल्चोक नेपाल पत्रकार महासङ्घका अध्यक्ष जिवन श्रेष्ठको घरमा चोरी गर्ने ४ जना प्रकाउ परेका छन् ।
जिल्ला सदरमुकाम चौताराको पुरानो बजारमा दिउसै चोरी गरी फरार रहेका ४ जना पक्राउ परेका छन् । श्रेष्ठको घरमा गत पुस १२ गते चोरी गरी फरार रहेका ४ जनालाई पक्राउ गरि जिल्ला प्रहरीले सार्वजनिक गरेको हो ।
घरमा कोठा गरी बस्ने सुनकोशी ६ की कञ्चन पराजुलीको संलग्नतामा चोरी भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सुनकोशी ६ की २० वर्षीया पराजुली सहित इन्द्रावती १० का २४ वर्षका मनिष सुन्दास, इन्द्रावती ९ का २५ वर्षका बुद्ध तामाङ र इन्द्रावती ९ कै २६ वर्षका विक्की भन्ने अनिल तामाङ रहेका छन् ।
पराजुलीसँग मूलढोकाको चाबी लिएर बाँकी कोठाको ताला भने फुटाएर उनीहरूले चोरी गरेका थिए । श्रेष्ठको घरमा कोही नभएको समयमा घरको मूलढोकाको ताला खोलेर अन्य ताला भने फुटाएर सुनको करिब १३ तोला र चाँदीको करिब ४ तोला गरगहना सहित नगद १ लाख समेत चोरी भएको थियो ।
उनीहरूको साथबाट ६ तोला गरगहना र नगद ४ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । कोठा भाडामा बस्ने पराजुलीलाई चोरी भएकै दिन रुमबाट प्रहरी नियन्त्रणमा राखिएको हो भने अन्यलाई भने पुस २३ गते थानकोटबाट पक्राउ गरिएको हो ।