नवलपुर, पुष २९ ।
इन्द्रावती गाउँपालिकाले आफ्नो गाँउ सभाको १० औं अधिवेशन बिहिबार सम्पन्न गरेको छ ।
गाँउ सभाको १० औं अधिवेशनले इन्द्रावती नदी किनारमा परापूर्व काल देखी भोगचलन गर्दै आईरहेको ऐलानी जग्गा नापी,नक्सा गर्न आवस्यक बजेट ब्यवस्था गर्ने निर्णय पारीत गरेको छ । यस्तै कृषि उपज संकलन,प्रशोधन तथा विक्री केन्द्र संचालन तथा ब्यवस्थापन , दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि पनि पारीत भएको छ ।
गाउँपालिका अध्यक्ष वंशलाल तामाङले अब सहकारी मार्फत किसानले विक्री गर्ने दुधमा पालिकाको तर्फबाट प्रतिलिटर दुई रुपैया थप अनुदान दिने समेत निर्णय गरेको छ । गाउँ सभाको १० औं अधिवेशनले पालिकाको सिपाघाट ज्यामिरेमाने नवलपुर सिम्पाल काभ्रे सडकलाई भृकुटी मार्ग नामाकरण गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले पालिकाले आर्थिक वर्ष ०७७–७८ को हालसम्म हाँसिल गरेका मुख्य –मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यो आर्थिक वर्षमा गाउँपालिकाले १९।८१ प्रतिशत मात्रै खर्च गरेको बताउदै शर्माले बाकि योजना सम्झौता र भुक्तानिका क्रममा रहेको उल्लेख गरे ।
केहि दिनमा नगर प्रहरी नियुक्ती प्रक्रिया पुरा गर्ने देखि पाँच वर्षलाई आधार मानेर पालिकाको प्रगति प्रतिवेदन चाडै ल्याउने प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए । एकिकृत बस्ती, रंगशाला निमार्ण,गाउँपालिका र नवलपुर अस्पतालमा सुविधा सम्पन्न भवन निमार्ण,ऐसेलुखर्क मा।वि।लाई नमुना विद्यालय बनाउने देखि विभिन्न सडकको स्तरउन्नती भएका उनले बताए ।
पालिका अध्यक्ष तामाङको सभापतित्वमा सम्पन्न गाँउ सभाले चौमासिक समिक्षा संगै योजना संशोधन र रकमान्तर , करका दर र दायरा थप तथा संशोधन, ऐन, कार्यविधि,निर्देशीका स्वीकृत एवं खरिद समिति र मुल्यांकन समिति गठन लगायतका एजेण्डा पारीत गरेको छ ।