अर्जुन शर्मा, सिन्धुपाल्चोक ।
हातमा सिप भएर पनि भनेजस्तो कमाइ नभएर विदेशिएका सिन्धुपाल्चोकको सदरमुकाम चौताराका युवाहरुले आफ्नै गाँउमा नै मनग्य आम्दानी गर्न थालेका छन् । बैदेशिक रोजगरमा गएर गरेको दुख आफ्नै गाँउघरमा नै गर्न सके स्वेदशमा नै मनग्य आम्दानी हुने भएपछि यहाँका युवाहरु गाँउमै फर्केर गार्मेन्ट उद्योग सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. ४, चतुरेका बादलराज नेपाली करिब १६ वर्षदेखि सिलाई कटाइ पेशामा आवद्ध छन् । लामो समयसम्म काठमाण्डौमा अरुको मजदुरी गरेर पनि परिवार पाल्न धौधौ परेपछि उनि सो पेसा छाडेर सेक्युरेटी गार्डको रुपमा तीन वर्ष वैदेशिक रोजगारीको लागि बिदेशिन पुगे ।
बिदेशमा पनि दुख गरे अनुसारको राम्रो कमाइ गर्न नसकेपछि उनि जवरजस्त ३ बर्षको बैदेशिक रोजगारमा रहेर नेपाल फर्किए । ३ बर्षसम्म बिदेशमा बसेर नेपाल फर्कियका बादलले बिभिन्न संघसंस्था र स्थानीय तहहरुसँग समन्वय गरेर आफ्नै ठाँउमा गार्मेन्ट उद्योग सञ्चालन गरे । उनले संचालन गरेको सो गार्मेन्ट उद्योगमा उनिले मात्रै रोजगार पाएनन उनले उनिसँगै आफ्नै गाँउका १५ जनाभन्दा धेरैलाई रोजगारी समेत दिइरहेका छन् ।
‘यो गार्मेन्टमा सिजनमा १५ जना भन्दा धेरैले रोजगार पाँउछन् ।’ बादलले भने —‘सामान्य समयमा पनि कम्तिमा १० जना यस गार्मेन्टमा नियमीत काम गर्छन । उनिहरुले मासिक ३० देखि ३५ हजारसम्म कमाउने गरेका छन् ।’
उक्त गार्मेन्टमा काम गर्नेमध्ये अधिकाँश वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरुले काम गरिरहेका छन् । करिब १५ बर्ष देखि यसै पेशामा कार्यरत उमेश परियार पनि ६ बर्षसम्म मलेसियामा समेत काम गरेका थिए तर गाँउमा नै गार्मेन्टको काम गर्ने अवसर पाउने भएपछि उनले समेत बिदेश छाडेर गाँउ फर्किएका छन । उनि अर्काको खटाइमा काम गर्नुपर्ने बाध्यता हटेको र परिवारसँगै रहेर मनग्य आम्दानी गर्दा निक नै खुशि रहेको सुनाउछन् ।
हाल काठमाण्डौमा रोजगार गरिरहेका युवाहरु पनि गाँउमै काठमाण्डौकै जति कमाइ हुने भएपछि गाउँ फर्किएका छन् । आफ्नै घरमा बसेर काम गर्दा कोठाभाडा र यातायात खर्च समेत जोगीने भएपछि गाँउकै गार्मेन्ट उद्योगमा काम गर्न आएको सो गार्मेन्टमा कार्यरत कालीगढ राम हिमालले बताए ।
२ बर्ष अगाडिबाट संचालनमा आएको उक्त गार्मेन्टमा टिसर्ट, पाइन्ट, सर्ट, ट्रयाकसुट लगाएतका कपडा सिलाइका साथै बिभिन्न प्रकारका कपडाहरु धुन पनि जिल्लाका धेरै सेवागा्रहीहरु आउने गरेका छन् । एउटा सहकारीमार्फत संचालन गरिएको उक्त गार्मेन्टमा घरेलु तथा साना उद्योग कार्यालय, चौतारा र चौतारा साँगाचोकगढी नगरपालिकाको समेत आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
जिल्ला सदरमुकाम चौतारामा पहिलोपटक संचालनमा आएको उक्त गार्मेन्टमा हाल बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि ठुलो मात्रामा ट्रयाकसुट तयार गर्नेकाम भइररहेको छ । काठमाण्डौंकै मुल्यमा सोही गुणस्तरको कपडा सदरमुकाममा नै पाउने भएपछि विद्यालय सञ्चालकहरु समेत निकै खुसी भएका छन् ।
पछिल्लो समयमा स्थानीय सरकारको सहयोग र समन्वयमा युवाहरुले सञ्चालन गरेका यस्ता उद्योगहरुले आफ्नै गाँउमा नै प्रशस्त रोजगारीको सृजना गर्नुका साथै स्थानिय बासीलाई समेत धेरै नै सहज भएको छ ।