बैशाख २६, चौतारा ।
छाप आहलडाँडादेखि भालुवन डाँडासम्मको एकीकृत विकास गर्ने लक्ष्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष उम्मेद्वार श्यामकृष्ण श्रेष्ठले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
वडा अध्यक्षले पाउँदै आएको तलवभत्ता लगायतका आर्थिक सुविधाहरु सामाजिक संस्थालाई समर्पण गर्ने उद्घोषका साथ सार्वजनिक भएको घोषणापत्रमा अध्यक्षका उम्मेद्वार श्रेष्ठले आगामी पाँचवर्षभित्र वडालाई समृद्ध बनाउनका लागि उत्कृष्ट भिजनहरु पस्केका छन् । खासगरि चुनावको माहौलमा जम्ल्याह हात जोड्दै विना भिजन भोट माग्दै हिड्ने अन्य उम्मेद्वारहरुलाई उनले झापड दिएका छन् । हामी स्पष्ट भिजनका साथ चुनावी मैदानमा उत्रेका छौं उनले भने भिजनविना जनतासँग भोट माग्नु भनेको जनतालाई ढाट्न खोज्नु हो।
हुन पनि कतिपय उम्मेद्वारहरु कुनै योजना विना नै मलाई एक भोट है भनेर हिडिरहेका छन् । जसको भिजन नै छैन र हावाको भरमा भोट मागेर हिडिरहेका छन् भने उसले भोलि गएर कस्तो काम गर्छ रुचौतर्फी प्रश्न उठ्न थालेको छ । यता माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्रको संयुक्त बाम गठवन्धनकातर्फबाट उम्मेदवार बनेका श्रेष्ठ भने प्रतिवद्धता निर्शत पालना हुनेमा विश्वास व्यक्त गर्छन् । उनको टीमले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा स्वास्थ्य जनजीविका, भौतिकक पूर्वाधार लगायत सबै विषयहरु समावेश छन् । स्वस्थ जनता, प्रतिआयमा वृद्धि ः हाम्रो योजना समूल वडा समृद्धि भन्दै स्वास्थ्य क्षेत्रमा आगामी ५ वर्षभित्र गर्ने योजनाहरुबाट प्रवेश भएको प्रतिवद्धतापत्र वडाको प्रशासनः भ्रष्टाचारमुक्त, पारदर्शी, सुशासन भन्दै कार्यालय प्रशासनको चित्र कोर्द समापन भएको छ ।
आगामी ५ वर्षभित्र ६० वर्ष माथिका जेष्ठ नागरिक र विपन्न वडावासीलाई स्वास्थ्य विमाको प्रवन्ध मिलाउने, दीर्घ रोगीलाई निःशुल्क औषधि वितरण, हजार दिने आमा पोषण, नवजात शिशुलाई न्यानो कपडा, स्वास्थ्य शिविरको आयोजना र औषधी उपचारको व्यवपस्थापन लगायत एम्बुलेन्स सेवाका लागि १० प्रतिशत भडादर वडाले व्यवस्थापन गर्ने प्रतिवद्धता गरेका छन् । शिक्षा क्षेत्र अन्तर्गत निशुल्क शिक्षाका लागि आधार तयार गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिने, इ लाइब्रेरी सञ्चालन गर्ने, पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने युकेजीसम्मका कक्षाहरुलाई सैद्धान्तिक अनुरुप सञ्चालनका वातावरण तयार गर्ने लगायतका प्रतिवद्धता जाहेर गरेका छन् ।
स्थानीयस्तरमा उत्पादित सबै प्रकारका उत्पादनको बजारीकरणसँगै वडा कार्यलय आफैले नै खरिद विक्रीको वातावरण निर्माण गर्ने, सीप हस्तान्तरणका कार्यक्रमसहित कच्चा पदार्थ एवम् संकलित फोहर प्रशोधन केन्द्र स्थापना गर्ने, समयमा नै किसानलाई रासायनिक मल उपलव्ध गराउन अधिकतम स्रोत र साधनको परिचालन गर्ने र कोशेली घर सञ्चालनमा ल्याउने जस्ता प्रतिवद्धताहरुले आयआर्जनमार्फत वडा समृद्ध बनाउने उनको सपना रहेको प्रष्ट पार्दछ ।
भौतिक पूर्वाधारतर्फ भने सडक स्तरोन्नति, कालोपत्रे र ढलानलाई जोड दिएको छ । कतिपय बस्तीहरुको सडक किटानीका साथ उल्लेख गरेको छ । त्यस्तै खानेपानी अन्तर्गत एकघर एक धाराको अभियान, मूहान संरक्षण एवम् नजिकका बस्तीहरुमा अस्थाइ खानेपानी आपूर्तिका लागि लिफिटङ खानेपानीको अवधारणालाई अघि सार्नुका साथै पानीको न्यूनतम महशुलमा फेरबदल गर्ने प्रतिवद्धता पनि जाहेर भएको छ । सार्वजनिक शौचालय, सामूदायिक भवन एवम् चौतारा पुरानो बजारको कृष्णमन्दिर पुनर्निमार्ण र सार्वजनिक जग्गाको संरक्षणको योजना पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
स्थानीय क्लबहरुसँगको साझेदारी र समन्वयमा खेलकूदका गतिविधि अगाडी बढाउने, खुला निःशुल्क जिमशाला सञ्चालनमा ल्याउने, राष्ट्रिय र प्रदेश प्रतियोगितामा जित्ने खेलाडीहरुलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने र सीप र क्षमता अभिवृद्धिका कार्यक्रममार्फत युवाहरुलाई रोजगार ÷स्वरोजगार बनाउने लक्ष्य पनि प्रतिवद्धतापत्रमा उल्लेखछ । सवल इन्टनेटको पहँचु विना सूचना र प्रविधिमा गरिएका लगानीहरु बालुवामा पानी बन्न सक्ने खतरालाई आत्मसात गर्दै सबे बस्तीबस्तीमा द्रुत गतिको इन्टरनेट सेवाका लागि पहल हुने र प्रविधिलाई रोजगारीसँग विकास गर्दै लाने योजना पनि प्रतिवद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै सामाजिक सुरक्षा, कला, साहित्य र संस्कृतिसँगै वडाको सेवालाई चुस्त दुरुस्त र परिवारमैत्री वातावरणमा सञ्चालन गर्ने अठोट पनि प्रतिवद्धतापत्रमा गरिएको छ । समग्रमा वडा न ५ को यो प्रतिवद्धतापत्र महत्वकाँक्षी देखिएको छ । प्रतिवद्धताहरु पूर्णरुपमा पालन गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु छनौट गरि कार्य योजनासहित आफू अगाडी बढ्ने उम्मेद्वार श्रेष्ठको भनाइछ । उनले भिजनलाई मिशनमा बदल्नका लागि संघ, प्रदेश र अन्य वैकल्पिक आर्थिक स्रोतको समेत खोजी गरिने बताए ।
“हाम्रो भिजन, हाम्रो मिशन, वडा समृद्ध बनाउने हाम्रो समर्पण“ नाराका साथ सार्वजनिक भएको यो प्रतिवद्धतापत्र कार्यान्वयन होला कि नहोला भनेर हेर्नका लागि भने वडा अध्यक्षका उम्मेद्वार श्यामकृष्ण श्रेष्ठलाई विजयी गराउनु पर्ने देखिन्छ ।