हेलम्बु ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका भित्रका सामुदायीक विद्यालयका बालविकास सहजकर्ताहरुको लागि ५ दिने प्रारम्भिक बाल विकास तालिम प्रदान गरिएको छ ।
जस्ट नेपाल फाउण्डेसनद्धारा संचालित ‘हाम्रो सामुदाय हाम्रो विद्यालय–हेलम्बु’ परियोजनाको आयोजना हेलम्बु गाँउपालिकाको समन्वय र प्रारम्भिक बाल हेरचाह र शिक्षाको सहजिकरणमा संचालन गरिएको उक्त तालिममा बालवालिकाको चौतर्फी बिकासका लागि सहजकर्ताले खेल्नुपर्ने भुमिकाको विषयले प्राथमिकता पाएको थियो ।
सो तालिममा हेलम्बु गाउँपालिका भित्र रहेका २१ वटै विद्यालयका २१ जना बाल विकास सहजकर्ता र संस्थाको ४ जना सहजकर्ता गरी जम्मा २५ जनाले सहभागीता जनाएका थिए ।
चनौटे बजारमा संचालन भएको उक्त तालिमको उद्घाटन हेलम्बु गाउँपालिकाका शिक्षा विकास तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले गरेका थिए । कार्यक्रमको उदघाटन गर्दै भट्टले सिकेको कुरा व्यवहारमा उतार्न सके मात्र सार्थक हुने र आगामी दिनमा अझ धेरै कुरा सिकेर बालबालिका को चौतर्फी विकास गर्नु पर्ने बताएका छन् ।
तालिममा बालबालिकाको सिकाई प्रभावकारी बनाउनको लागी सहजकर्ताहरुलाई मूल्य नपर्ने र कम मूल्य पर्ने शैक्षिक सामग्री निर्माण गर्नको लागि समेत सिकाइएको थियो ।
“हामी शैक्षिक सामग्री पुगेन भन्थेउ तर सबै सामग्री हाम्रो नजिकै पो रहेछ, मूल्य नपर्ने सामग्री बाट पनि गुणस्तरीय सिकाइ पो हुँदो रैछ” शैक्षिक सामाग्री बनाउन सिकेपछि बबिता खड्काले भनिन् ।
यि र यस्ता तालिमहरुले हेलम्बुको समग्र शिक्षालाई एक खुड्किला अघि बढ्ने र बालविकास लाई टेवा पुग्ने विश्वास रहेको तालिमका संयोजक नवराज सापकोटाले बताए ।